Shittalpati
लकडाउनका बेला पाल्पामा धमाधम विकास निर्माण

कृष्ण पोखरेल
पाल्पा, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागु गरेको लकडाउनका कारण अधिकांश क्षेत्र बन्द भएपनि विकास निर्माणका केही आयोजना भने सञ्चालनमा छन् । सरकारले मुलुकभर लकडाउन गरेपनि जिल्लाका केही स्थानीय तहहरुले उच्च सतर्कता अपनाउँदै विकास निर्माण कार्यलाई निरन्तरता दिएका हुन् । लकडाउनको समयमा जिल्लाका दुई मुख्य राजमार्गमा धमाधम सडक स्तरोन्नतीको काम भईरहेको छ । लकडाउनले सुरुका केही दिन समस्या भएपनि सरकारले निर्माण कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएपछि विकास निर्माणका कामले तीव्रता पाएको हो । लकडाउनले जिल्लाका सडकहरु सुनसान छन् । सुनसान सडकमा भने दैनिक १८ घण्टा नियमित काम हुँदै आएको छ ।

तानसेन नगरपालिकाले लकडाउन भएदेखि नै तानसेन तम्घास सडक र डिभिजन सडक कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक सुधारको काम गर्दै आएका छन् । लकडाउनको समयमा दुबै सडकमा दैनिक १८ घण्टासम्म काम हुँदै आएको छ । तानसेन तम्घास सडकको तानसेनदेखि भैरवस्थानसम्म एक लेनको सडकलाई चौडा बनाउने, साघुरा मोड तथा घुम्तीहरु कटान गर्ने, विभिन्न स्थानमा टेका पर्खाल लगाउने, नाली काट्ने जस्ता कामहरु निरन्तर भईरहेको छ । तानसेन क्षेत्रमा दैनिक ६ देखि ७ वटा डोजर स्काभेटरको प्रयोग गरी काम तीव्र गतिमा भएको छ ।

६३ लाख रुपैयाँमा तानसेनको ढुङ्गाखानीदेखि भैरवस्थान सम्मको ३ किलो सडक चौडा पार्ने काम अन्तिम चरणमा पुगेको छ । सडक लकडाउनको समयमा सडक चौडाको काम निकै उपयुक्त भएको र समयको सदुपयोग गर्दै लकडाउनको समयमा काम भईरहेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए । लकडाउनको समयमा डिभिजन सडक कार्यालयले सडक तथा पुल निर्माणको काम गरिरहेको छ । तानसेन– बुटवल सडक खण्डको गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रको सबैभन्दा जोखिम र खतरायुक्त घुम्ती तथा मोडहरु कटानको काम भईरहेको छ । तिनाउ खोला, दोभान खोला र कचल खोलाको पुल निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन । लकडाउनको अवधीमा कालीमाटी क्षेत्रका ४ वटाभन्दा बढी जोखिमयुक्त घुम्ती कटान भईसकेको छ । तिनाउ र दोभान खोलामा पुल निर्माण कार्य पुरा भई अहिले फिनिसि·को काम भइरहेको छ ।

तानसेन–बुटवल सडक खण्डको कालीमाटी क्षेत्रमा प्रदिप कन्ट्रक्सन रुपन्देहीले २०७७ जेठ मसान्त भित्र काम सम्पन्न गर्ने गरी भ्याट बाहेक १ करोड ५ लाख ९१ हजार ६ सय २५ रुपैयाँमा ठेक्का सम्झौता गरी लकडाउनको प्रवाह नगरी काम गर्दै आएको हो । निर्माण व्यवसायीले घुम्ती, मोड कटानसँगै नाली निर्माण तथा कालोपत्रे समेत गर्ने छ । लकडाउनको समयमा सडकमा अत्यावश्यक बाहेकका सवारी सधान नगुड्दा काम गर्न सहज भएकाले कामलाई निरन्तरता दिएको डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए । घुम्ती कटानबाट मात्र टाढा टाढा सम्मका सवारी साधन देखिने, दुर्घटना जोखिम घट्ने र यात्रुहरुको यात्रा समेत सुरक्षित हुने कार्यालयले जनाएको छ लकडाउनको समयमा सडक क्षेत्रमा काम गर्न सहज हुने भएकोले तानसेन नगरपालिका र डिभिजन सडक कार्यालय पाल्पाले कामलाई निरन्तरता दिएका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update