Shittalpati
गुल्मीमा प्रजिअको ध्यान सेवा प्रवाहलाई चुस्त बनाउने

रमेश विश्वकर्मा
गुल्मी, जिल्लामा आउँने अधिकांश प्रमुख जिल्ला अधिकारीहरुले सेवालाई चुस्त बनाउनेतर्फ नयाँ–नयाँ उपायहरु अवलम्बन गरेको पाइन्छ । जसका कारण सेवाग्राहीहरुलाई सहज हुने गरेको छ । प्रायःजिल्लामा आउँने प्रमुख जिल्ला अधिकारीहरुले अवलम्बन गर्ने शैलीले सेवाग्राही र कर्मचारीहरुलाई पनि सेवा प्रवाह गर्न सजिलो भएको पाइन्छ ।


जिल्ला आउँने प्रजिअहरुकै पहलका कारण प्रशासनियक क्षेत्रमा नयाँ कार्यहरु भईरहेका छन् । यस अघि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको पहलमा जिल्लाको सदरमुकाम तम्घासका विभन्न चोक तथा मुख्य बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिएको थियो । जसका कारण सुरक्षाका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जसले गर्दा बजार क्षेत्र सिसिटिभिको नियन्त्रणमा रहेको छ । अहिले जिल्लामा कोशहरी निरौला प्रमुख जिल्ला अधिकारी रहेका छन् । निरौला जिल्लामा सरुवामा भई आएको करिब २ महिना मात्र भयो । उनी यस अघि स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका थिए । उनले सेवा प्रवाहलाई चुस्त बनाउन सहायता कक्ष स्थापनासंगै जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना, युरो गार्ड सहितको शुद्ध पिउने पानीको व्यवस्था लगायतका महत्वपूर्ण कार्यहरू
गरेका छन् । पछिल्लो समय जिल्ला प्रशासनमा भएको नयाँ कार्यलाई नागरिक तहबाटै प्रसंशा भएको छ ।

कार्यालयमा सेवाग्राहीको सहजताका लागि विभिन्न नयाँ–नयाँ कार्यहरु भैरहेका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाले सेवामा एकरुपता ल्याउनका लागि स्थानीयतहका जनप्रतिनिधि एवं कर्मचारीहरुसँग अन्तक्र्रिया गर्ने अभियानलाई समेत अगाडि बढाएका छन् । उनले सेवा प्रवाह गर्ने सन्दर्भमा स्थानीयतहबाट गरिने कतिपय सिफारिसहरुमा एकरुपता ल्याउन आफुहरु जनप्रतिनिधिहरुसँग छलफल र अन्तक्र्रियामा जुटेको बताए । प्रजिअ निरौलाले नेपाली नागरिकता, व्यक्तिगत घटना दर्ता, ऐन र जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका विषयमा स्थानीयतहमा जानकारी गराएको बताए । त्यस्तै उनले कानुनी व्यवस्था सेवाप्रवाहमा रहेका अन्यौलता नीतिगत अस्पष्टता, समस्या समाधान, नागरिकहरुले सेवा प्रवाह गर्दा भोग्नु परेका समस्याहरुको विषयमा समेत स्थानीयतहलाई जानकारी गराएका छन् । ‘स्थानीयतहबाट सिफारिस आउँछन् । कहिले फोटोमा छाँप हुँदैन, बिचमै केरमेर भएको हुन्छ ।’ प्रजिअ निरौलाले भने । यस्ता समस्याका कारण सेवाग्राहीहरुलाई समस्या हुने गरेको भन्दै यसमा एकरुपता ल्याउन अवश्यक रहेको उनले बताए । निरौलाले स्थानीयतह ऐन, नियमका विषयमा अभ्यास्त नभएका कारण त्यस्ता समस्या आउने गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय र स्थानीयतह बीच सम्बन्ध स्थापित गर्दै सेवाप्रवाहका सम्बन्धमा आउने समस्या समाधानका लागि पनि भेटघाट कार्यक्रम महत्वपूर्ण हुने निरौलाको भनाई रहेको छ । छिट्टै नागारिकहरुको गुनासो सुन्ने कार्यक्रम लिएर जिल्लाका सबै स्थानीयतहमा सार्वजनिक सुनुवाइको आयोजना गर्ने प्रजिअ निरौलाले जानकारी दिए । ‘प्रशासनबाट सञ्चालन हुने नागरीकता, राहदानीका काम हुन् । ‘पहिले राहदानीको पैसा कार्यालयमा बुझ्ने व्यवस्था थियो । तर अहिले बैंकमा बुझ्ने गरी व्यवस्था गरेका छौँ ।’ उनले भने । प्रशासनको हाताबाटै अब माघ पहिलो हप्ता नै बैँकिङ्ग काउण्टर खोल्ने तयारीमा रहेको निरौलाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update