Shittalpati
रोजगार गुमाएका युवालाई उद्यममा

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, अवसर र रोजगारी अहिले निकै बहसका विषय बनेका छन् । महामारीको रूपमा फैलिएको कोभिडले त झन् नेपालजस्ता देशका लागि यि विषय चुनौतीका रुपमा देखा परेका छन् । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण विदेशिएका युवा कोभिडका कारण अहिले घरमै बेरोजगार बनेर बसेको अवस्था छ । नेपालको अर्थतन्त्रले देशमै भएका युवालाई त रोजगारी दिन सकेको छैन भने अझ विदेशबाट फर्किएका युवालाई कसरी रोजगारी दिने ? यो मुख्य चुनौतीको विषय बनिरहेको बेला तानसेन नगर सरकार, हेफर ईन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाले भने संयुक्त रुपमा रोजगार गुमाएका युवाहरुलाई उद्यममा लगाएको छ । नगर सरकार, हेफरको संयुक्त लगानी र रेडाको सहजिकरणमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रममार्फत बेरोजगार युवाहरुलाई उद्यममा लगाइएको हो । उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत युवाहरुलाई व्यवसायिक रुपमा बाख्रा, बंगुर, लोकल कुखुरा, तरकारी, अदुवा, अकबरे खुर्सानी, कागती र च्याउ खेतीमा लगाइएको छ । रेडाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकारहरुसँग उद्यमशिलता विकास कार्यक्रमको समिक्षा तथा छलफल कार्यक्रममा कार्यक्रम संयोजक डा. लेखनाथ अधिकारीले ७ सय १ जना युवालाई उद्यममा लगाइएको बताए । उनका अनुसार ति मध्ये ४ सय २६ जना वैदेशिक रोजगारबाट फर्किएका युवाहरु हुन् ।

लामो समयदेखि भारतमा कुकम्यानका रुपमा काम गरेका तानसेन –१४ का पदमबहादुर दर्जी कोभिड–१९ का कारण रोजगारी गुमाएर घर फर्किएका थिए । घर फर्किएका दर्जी नगर सरकार, हेफर र रेडा साझेदारी कार्यक्रमबाट व्यवसायिक बंगुरपालनमा लागे । अहिले उनको परिवारले बंगुर पालनबाट राम्रो आम्दानी गर्दै आएको छ । काठमाडौँस्थित एक होटलमा कुकम्यानका रुपमा काम गर्दै आएका सोही ठाउँका रमेश परियार पनि कोरोनाका कारण रोजगारी गुमाएर घर फर्किएका थिए । रोजगारी गुमेसँगै आफ्नो जन्मथलो कुसेनीमा परिवारसँगै बसोबास गर्दै आएका परियारलाई उद्यमशील विकास कार्यक्रमबाट बंगुरका पाठापाठी र खोरका लागि आर्थिक सहयोग मिलेपछि व्यवसायमा लागे । अहिले उनको परिवारले पनि यहाँबाट राम्रै आम्दानी गर्दै आएको छ । यि त केही प्रतिनिधि पात्र मात्र हुुन् । उनीहरु जस्तै ७ सय १ जना युवाहरु अहिले बाख्रा, बंगुर, कुखुरा पालन र तरकारी खेतिमा संलग्न रहेको रेडाको तथ्याङ्कमा छ । तानसेन नगर सरकारको ७५ प्रतिश हेफर इन्टरनेशनलको २५ प्रतिशत लगानी र रेडाको सहजिकरणमा तानसेनमा कृषि तथा पशु उद्यमशिलाता विकास साझेदारी कार्यक्रम विगत ३१ महिनादेखी सञ्चालनमा रहेको छ । तानसेन नगरपालिकामा कृषि तथा पशु उद्यमशिलता मार्फत कृषि पशु उत्पादन बढाउने, बजारीकरण गर्ने, युवा उद्यमी बढाउने, विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउदै उद्यमी बनाउने महान अभियानका साथ त्रिपक्षीय साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिएको हो । तानसेनका १४ वटै वडामा लागु गरिएको यो कार्यक्रमबाट विशेष गरी रोजगारी गुमाएका युवाहरु बढी लाभान्वित भएका छन् ।

परियोजनाले साना किसानलाई मझौला बनाउने, मझौला किसानलाई ठूला बनाउने, ठूला भनिएका किसानलाई अझै बढी उत्पादनमा लगाउने गरी काम भइरहेको कार्यक्रम संयोजक डा. अधिकारीले बताए । परियोजनाले यहाँ बाख्रा, बंगुर, लोकल कुखुरा, तरकारी, अदुवा, अकवरे खुर्सानी, कागती र च्याउँ खेतीमा विशेष काम गर्दै आएको छ । यसले ग्रामीण वडामा बढी कृषि तथा पशुपालनको काम गरे पनि शहरी वडाहरुमा उपभोक्तासँंग जोडिने गरी उत्पादनलाई बजारीकरणमा समेत सहयोग गरेको छ । परियोजनाले तानसेन –२ अशनटोलमा आगामी साउन १ गतेदेखि व्यस्थित दुध डेरी सञ्चालन गर्ने, तानसेन –३ टक्सारटोल, होलाङ्दी क्षेत्रमा तरकारी तथा कृषिजन्य उत्पादनको थोक बजार सञ्चालन गर्ने र बजारका ठाउँ ठाउँमा खुद्रा विक्रि केन्द्र सञ्चालन गर्ने गरी तयारी गरेको ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए । यो कार्यक्रमबाट समावेश परिवारको शुरुको आम्दानी १७ हजार ३ सय ५७ र हालको अवस्थामा आम्दानी बढेर १ लाख ९ हजार ४ सय ५ रुपैयाँमा पुगेको हेफर इन्टरनेशनल नेपाल पाल्पाका कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले बताए । यो कार्यक्रमबाट विना धितो, सहुलित व्याजदरमा तानसेन नगरपालिकाका ८४ जना युवा उद्यमीले ५ करोड ८४ लाख रुपैयाँ ऋण पाएका छन् । जसमा पुरुष ४९ र महिला ३५ जना रहेका छन् । युवा उद्यमीबाट ४० करोड ऋण माग भए पनि अहिले आर्थिक अवस्थाका कारण दिन नसकिएको अधिकृत पाण्डेले बताए । तानसेनबाट शुरु भएको नमुना कार्यक्रम अहिले देशभरीका ५१ वटा स्थानीयतहहरुमा तानसेन मोडल नामबाट शुरु भएको छ । छलफल कार्यक्रममा बाख्राको बजारीकरण र उत्पादन दुबैमा राम्रै प्रगति भए पनि बंगुरमाको बजारीकरणमा भने समस्या रहेको पत्रकारहरुले गुनासो गरेका छन् । उनीहरुले यसतर्फ ध्यान दिन साझेदारी संस्थाहरुलाई आग्रह समेत गरे । कार्यक्रम युवा संयोजक निर्प बहादुर परियारको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update