Shittalpati
ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

पाल्पा, ट्राफिक जरिवाना मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइनमार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेसँगै मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस अघि नै ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवसथा मिलाएको थियो । तर त्यो सबैको पहुँचमा पुग्न सकेको थिएन । अब भने बैंकमा खाता खोलेका सबै नागरिकहरुले मोबाईल बैंकि·बाट सिधै जरिवाना तिर्न सक्ने जनाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आगामी दिनमा बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाइदिएपछि ट्राफिकले सूचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिदै अझ बढी सहज, सरल र सुविधायुक्त बनाउन आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको एनजेडीलाई जानकारी दिए । यसले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने बताए । ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु बीचमा आवद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम सञ्चालन गरेको जनाएको छ । अबदेखि थप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ । ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमता अनुसार अन्य सेवालाई पनि क्रमशःप्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update