Shittalpati
आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै

पाल्पा, आज साउन कृष्ण चतुर्दशीको दिन पाल्पा सहित देशभरका नेवार समुदायले घण्टाकर्ण पर्व मनाउँदै छन् । नेवार समुदाय रहेका टोल टोलमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । विशेषगरी घण्टाकर्ण पर्वलाई नेवार समुदायले गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् ।

यो नेवार समुदायको यस वर्षको पहिलो चाड हो । यस दिन राक्षको स्वरुप घण्टाकर्ण बनाउने गरिन्छ । नेवार समुदाय रहेको पाल्पामा यो पर्व बनाउने गरिन्छ । यहाँ हरेक वर्ष देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाले तानसेनको शित्तलपाटी, नारायणस्थानमा नारायण युवा क्लव र बसपार्कमा बसपार्क समूहले घण्टाकर्ण राख्ने गर्दछन् । विगतमा यो पर्व भव्य रुपमा बनाउने गरिए पनि पछिल्लो समय विस्तारै हराउँदै जान थालेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताए । टोल–टोलमा मान्छे मार्ने राक्षस मरेको सम्झनामा घण्टाकर्ण चतुर्दशी पर्व मनाउने गरिएको हो । घण्टाकर्ण पर्वलाई स्थानीय नेवार समुदाय गथांमुगः चह्र भन्छन् । विशेषगरी तानसेनका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोले बनाएको राक्षस रुपी गथांमुगको साँझ दाहसंस्कार गरिन्छ । टोल–टोलमा घण्टाकणका सयौं गथांमुगको साँझा दाहसंस्कार गरिन्छ । गथांमुग बनाउन टोल–टोलमा स्थानीय स्तरमा नर्कट, छ्वाली, परालको संकलन गर्ने गर्दछन् । संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथांमुग बनाइन्छ । पुरानो नाङ्लाको मुख, नाक, कानलगायतका अंग बनाई हाँडीको टाउको बनाइन्छ । गथांमुग बनाउँदाको विशेषता यौन अंग झल्काउनु हो । दुईवटा ठूल्ठूला भोगटे अण्डाशयको रुपमा झुण्डाइन्छ र त्यसको बीचमा लाठीलाई परालले घेरेर लामो लिंगोको यौन अंग बनाइन्छ ।

जात्रामा सहभागी हुने सयौंले छ्वालीको राँको बालेर गथांमुगको दाहसंस्कारमा सहभागी हुन्छन् । टोलटोलमा बनाएको गथांमुगलाई टोलबाट पूर्वमा अवस्थित नजिकैको दोबाटो, चौबाटोमा जलाइन्छ । यो पर्व पर्वमा मात्रै सिमित नभई वैज्ञानिक कारण पनि जोडिएको छ । रोपाइँपछि झारका कारण बढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने वैज्ञानिक कारण यो पर्वसँग जोडिएको छ । दाहसंस्कारबाट फर्केर बाटोमा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन छ । परापूर्व कालमा नेपालमा गथांमुग नाम गरेको एउटा नास्तिक थियो, जसलाई सत्यनिष्ठामा रहेका मानिस मन पर्दैनथ्यो । सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिँड्ने मानिससँग जगात (पैसा) उठाउथ्यो । पैसा नदिने मानिसलाई मारेर मासु खान्थ्यो । महिलालाई बलात्कार गथ्र्यो र राम्री लागेकीलाई श्रीमती बनाउँथ्यो । घण्टाकर्णको यस्ता क्रियाकलापले मानिसहरु आतंकित थिए । एक दिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसँग भयो । उसले भ्यागुतोलाई मानव बस्ती कता छ भनी सोध्यो । घण्टाकर्णको आतंकबाट पीडित भ्यागुतोले हिलेबाटो देखाइदियो । अलि पर पुग्नासाथ घण्टाकर्ण हिलोमा गाडियो । उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सकेन । यही मौकामा घण्टाकर्णबाट पीडित मानिस एकत्रित भएर ढुंगामुढा र लाठाले हिर्काएर मारे । यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाएको भन्ने किंवदन्ती यो पर्वमा रहेको छ । मानवता विरोधी घण्टाकर्ण मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालिएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update