Shittalpati
आज साउने संक्रान्ति, लुतो फालिदैं

पाल्पा, आज साउन १ गते अर्थात् साउने संक्रान्ति घर–घरमा लुतो फालेर मनाइँदै छ । लुतो फाल्ने दिनको रुपमा चिनिने साउने संक्रान्तिमा बिहानै नुवाई धुवाई गरी शरीरमा तेल लगाएर सरसफाई गरिन्छ । धान रोपाइँको काम सकिएको अवसरमा किसानहरुले साउने संक्रान्ति मनाउने गर्दछन् । महिना भरी हिलोमा बसेर खेतिपाती गर्नु पर्दा शरीर चिलाउने, खटिरा तथा लुतो आदी आउन सक्ने भएकाले जीउलाई सफा सुग्घर गरी लुतो फाल्ने गरिन्छ ।

लुतो उधुम चिलाउने चर्मरोग हो । नेपालका पहाडे समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापि छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम छ । लुतो फाल्न वा राक्षसको पूजा गर्न भलायोका पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ ।       

चारै दिशामा बलेको अउल्टो फ्यांकेर सबै रोगब्यादी लैजा भन्ने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रमा उल्लेख छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शड्ढ फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनामा विशेष रुपमा भगवान् शिवको पूजा पनि गरिन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।     

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update