Shittalpati
वैजुको सम्पदा कलाकृति

कृष्ण पोखरेल
पाल्पा,  भूगोल प्रसाद वैजु श्रेष्ठ तानसेनवासीको लागि एक परिचित नाम हो । विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका वैजु जुनसुकै समयमा पनि कुनै न कुनै काममा क्रियाशिल रहन्छन् । निर्वाचन हुँदा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आउनने वैजु पछिल्लो समय सम्पदा कलाकृतिबाट चर्चामा आएका छन् । रानीमहल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका वैजु अहिले पाल्पाका पर्यटकीय सम्पदा सिँगार्नमै व्यवस्त छन् । वैजुको घरमा किराना पसल छ । पसलमा ग्राहक नआउँदा उनी सामाजिक काममा बाहेक फुर्सदको समय यहाँका पर्यटकीय सम्पदाहरुको नमूना बनाउमै तल्लीन हुुन्छ ।

वैजुले फालिएका सरसमान तथा बास, थर्माेकोलबाट पाल्पाका पर्यटकीय सम्पदाहरु सानो–सानो नमूना हेण्डिक्राप्ट बनाउने काममा व्यस्त रहेका छन् । वैजुले पाल्पाको ऐतिहासिक, पर्यटकीय तथा पुरातात्विक महत्वको राणा खड्ग शमशरेरले निर्माण गरेका रानीमहल दरबार उस्तै बनाएका छन् । राणा प्रताप शमशेरले निर्माण गरेको पाल्पा दरबार पनि वैजुले उस्तै बनाएर पसलमा राखेका छन् । तानसेनको मुटुमा रहेका शितलपाटी, दरबार प्रवेश गर्ने मूलढोका समेत तस्वीरमा उतारेर वैजुले चर्चा कमाएका छन् । वैजुको कलाकारिता र मिहेनत हेर्न सर्वसाधारणदेखी पर्यटकसम्म उनको पसलमा पुग्ने गर्छन् । वैजुले पाल्पाको चर्चित भैरव मन्दिर रिडिको ऋषिकेशव मन्दिर, ताहूँको रम्भापानी मन्दिर, तानसेनको भगवती मन्दिर, अमरनारायण मन्दिर, माथागढी, जितगढी बनाउने तयारीमा जुटेका छन् । उनले बनाएका पाल्पाका पर्यटकीय सम्पदा रानीमहल, पाल्पा दरबार, शितलपाटी र मूलढोका पसलमै सजाएर राखिएको छ । वैजुले बनाएका सरसमान विक्रिका लागि भने राखिएका होइन । उनले संग्रहालय, विभिन्न प्रदर्शनी स्थल, कुनै सभा समारोहमा पाल्पाका पर्यटकीय सम्पदाहरु प्रचार–प्रसारको लागि राख्ने गरेका छन् ।

वैजुले बनाएको पाल्पाको निशान मन्दिर पाल्पा दरबार संग्रहालयमा राखिएको छ । पाल्पामा धेरै पर्यटकीय सम्पदाहरु छन्, तीनको प्रचार–प्रसार कलाकारिताको माध्यमबाट बढी प्रभावकारी हुने वैजु बताउँछन् । उनले भने ‘मैले नमूनाको रुपमा बनाएका पर्यटकीय वस्तुहरु हेरेपछी वास्तविक रुपमै हेर्न जान मानिसहरुको मन मस्तिष्कलाई प्रभावित बनाउने र पाल्पामा पर्यटकीय गतिविधी बढाउने, जिल्लाको आयआर्जन बढाउने पवित्र उद्देश्यले यो अभियानामा लागेको हुँ ।’ ‘यस्ता पर्यटकीय सम्पदाहरु बास, काठबाट बनाउँदा निकै मेहनत पर्ने गरेको छ, सोही अनुसारको डिजाइन गर्नुपर्यो, रङहरु छनौट गर्नुपर्यो, साईज मिलाउन पर्यो, यी सरसमान बनाउदा मेरो लाखौ रुपैयाँ खर्च भएको छ तर पनि खर्चको प्रवाह नगरी पाल्पाको पहिचान दिलाउन, पर्यटकीय सम्पदाको प्रचार–प्रसार गर्न यो अभियानालाई निरन्तरता दिन लागि परेको छु’ वैैजुले भने ।

नगरका ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुको हेण्डिक्राप्ट बनाएर तानसेन नगरपालिकाका नगर प्रमुख, तथा उप प्रमुखहरुलाई दिने उनले बताए । ति वस्तुहरुको संरक्षण तथा प्रचार–प्रसारको लागि नगर सरकारको ध्यान पुगोस् भन्ने उद्देश्यले नगर सरकारका प्रमुखहरुलाई आफुले बनाएका वस्तुहरु दिने वैजुले बताए ।

वैजुले थर्माेकोलबाट निर्माण गरेको शितलपाटी आफुले होटलमा सजाएर राखेको मोनिका गेष्टहाउसका सञ्चालक जीवलाल सुवेदीले बताए । होटलमा आउने पर्यटकहरुले थर्माेकोलबाट बनाएको शितलपाटीका विषयमा जानकारी लिने, प्रत्यक्ष रुपमा देखाउने र ऐतिहासिक महत्वको बारेमा जानकारी गराउने गरेको होटल सञ्चालक सुवेदीले बताए । वैजुको यो अभियानाले पाल्पाका पर्यटकीय सम्पदाहरुको प्रचार–प्रसार भएको र पाल्पामा थप पर्यटकह भिर्याउन मद्दत पुग्ने सुवेदीको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update