Shittalpati
इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकामा सुशासन र पैरवीको क्षेत्रमा काम गर्दै आएको इन्द्रेणी ग्रामीण विकास केन्द्रले ५ वर्षमा गरेका कार्यहरुको समीक्षा गरेको छ । उसले जिल्लाका पत्रकार र नागरिक समाज संस्थाहरुको उपस्थितीमा आफुले गरेका कार्यक्रमहरुको समीक्षा गरेको हो ।
कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक लक्ष्मीनाथ ज्ञवालीले आफुहरुले तिनाउ गाउँपालिकामा रहेर सुशासन र पैरवीकाका क्षेत्रमा उल्लेखिय काम गरेको बताए । उनले स्थानीय तहका नागरिकहरुमा पैरवी क्षमता विकासका कारण सेवा प्रवाहमा सकरात्मक प्रभाव परेको बताए । संयोजक ज्ञवालीले भने ‘पैरवीका कारण यहाँका नागरिकहरुलाई स्थानीय सरकारले दिने सूचना प्रवाहमा सुधार, सिमान्तकृत वर्गको स्थानीय तहको अनुदान पहुँचमा वृद्धि, गाउँपालिकाबाट वितरण गरिने विउ विजनको गुणस्तरका विषयमा खोज्न र बोल्न सक्ने भएका छन् ।’ मानव स्रोत क्षमता विकासबाट संस्थागत र सामाजिक विकासमा योगदान समेत पुगेको केन्द्रका संयोजक ज्ञवालीले बताए ।
सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगबाट पारदर्शी, जवाफदेहिता वृद्धि र स्थानीय सरकारको सेवा प्रवाहमा सुधार गर्न सहयोग पुगेको उनले बताए । सुशासन र पैरवीका कारण स्थानीय तह र नागरिक समाज संस्थाहरुको नीति परिमार्जन, निर्माण र समीक्षा हुने गरेको र सेवा प्रवाह र आन्तरिक सुशासनमा सहयोग पुगेको संयोजक ज्ञवालीले बताए । केन्द्रले तिनाउमा कार्यक्रम गरेपछि गाउँपालिकाले स्थानीय मानव अधिकार कार्ययोजना बनाएको छ । गाउँपालिकाले मानव अधिकारका विषयमा नागरिकहरुलाई अभिमुखिकरण गर्ने गरेको केन्द्रले जनाएको छ । मानव अधिकारको तालिमबाट नागरिकहरुले मानव अधिकारका बारेमा सिकाई र बुझाईबाट आफ्ना धारणा बनाउन सक्ने भएको बताइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले केन्द्रले सुशासन र पैरवीको क्षेत्रमा गरेको कार्य प्रशंसनिय रहेको बताए । उनले केही गैरसकारी संस्थाहरुले जनताको आकांक्षा अनुसार काम गर्न नसकेको अवस्थामा केन्द्रले केही भएपनि जनताको आकांक्षा पुरा गर्न सकेको बताए । समीक्षा कार्यक्रम यूएसएआईडी, इन्द्रेणी, एनजिओ फिडेसन अफ नेपाल र एफएचआई ३ सय ६० को आयोजनामा तानसेनमा भएको थियो ।
–प्रशिक्षार्थी पत्रकार सुकमाया ढेंगा

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update