Shittalpati
७५ औं हीरक महोत्सव मनाउँदै ज्ञानमाला संघ

पाल्पा, ७५ वर्ष पुगेको पश्चिम नेपालकै जेठो बौद्ध संस्था ज्ञानमाला संघ आनन्द विहार पाल्पाले यो वर्ष हीरक महोत्सव मनाउन लागेको छ । संघले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर हीरक महोत्सव मनाउन लागेको हो । मंगलबार तानसेनमा पत्रकार सम्मेलन गरी संघले वैशाख १६ गतेदेखि हीरक महोत्सव गर्न लागेको जनाएको छ । संघले शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी महोत्सवको शुभारम्भ गर्न लागेको हो । थेरवाद बुद्ध शासनका वरिष्ठ तथा अखिल नेपाल भिक्षु महासंघका आठौं श्रद्धय संघनायक भिक्षु बोधिसेन महास्थविरको प्रमुख आतिथ्यतामा हीरक महोत्सव शुभारम्भ गरिने संघका अध्यक्ष उत्पल कुमार बज्रचार्यले बताए । उनका अनुसार महोत्वसका अन्य कार्यक्रमहरु वर्षभरी नै हुने छन् । हीरक महोत्सवमा हुने कार्यक्रमहरुमा जिल्लाका पत्रकार, जनप्रतिनिधि, सुरक्षा निकाय, विद्यार्थीहरुलाई समेत सहभागी गराइने अध्यक्ष बज्राचार्यले बताए ।
कार्यक्रममा भिक्षु शासन पालले बालकहरुलाई अस्थायी प्रवज्या र बालिकाहरुलाई अस्थायी श्रषिणीका विषयमा जानकारी गराएका थिए । संघका पूर्व अध्यक्ष देवेन्द्रमान बज्रचार्यले संघले आयोजना गर्न लागेको हीरक महोत्सवको प्रचार प्रसारमा सहयोग गरिदिन पत्रकारहरुलाई आग्रह गरे । संघका पूर्व तथा बुद्धजयन्ती मूलसमारोह समितिका सचिव विनयराज बजा्रचार्यले दुई वर्ष कोभिडका कारण बुद्ध जयन्ती कार्यक्रम भव्य रुपमा गर्न नसकिए पनि केही पदाधिकारीहरुको सहभागीतामा कार्यक्रम भने गरिएको बताए । उनले आगामी दिनमा बुद्ध जयन्तीका विभिन्न कार्यक्रमहरु तय गरिएको जानकारी गराए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखिराम रानाले पाल्पामा बौद्ध शिक्षाको विकास र विस्तारमा संघले ध्यान दिनुपर्ने बताए । उनले धर्म, संस्कृतिको संरक्षणमा संघले खेलेको भूमिका अत्यन्त प्रशसंनिय रहेको धारणा व्यक्त गरे । नेपाल प्रेस युनियनका जिल्ला सभापति भरत शर्माले संघले आयोजना गर्न लागेको हीरक महोत्सवमा जिल्लाका पत्रकाहरुको सहयोग रहने बताए । संघले ७५ वर्ष पुगेको अवसरमा स्तम्भ अनावरण गर्ने, वृहत्त धार्मिक सभा गर्ने , बौद्ध दर्शनमार्फत शान्तिको सन्देश फैलाउन मूर्ति निर्माण गर्ने, बौद्ध धर्म सम्बन्धी फिल्म प्रदर्शन गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै आन्तरिक पर्यटनमा टेवा पु¥याउने खालका कार्यक्रम गर्ने, विद्यालयस्तरीय बौद्ध वक्तृत्वकला,चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, स्मारिका प्रकाशन जस्ता कार्यक्रमहरु राखेको छ । गौरवमय इतिहास बोकेको संघले जिल्लामा बुद्ध धर्मको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्दै आएको र नेपालका बौद्ध संस्थाहरुको पंक्तिमा आफुलाई उदाहरणीय संस्थाका रुपमा चिनाउन सफल भएको छ । पत्रकार सम्मेलन कार्यक्रम संघका अध्यक्ष उत्पल कुमार बज्राचार्यको अध्यक्षता, संघका उपाध्यक्ष सञ्जयलाल शाक्यको स्वागत, हीरक महोत्सव प्रचारप्रसार समितिका संयोजक सुरेशमान बुद्धचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update