Shittalpati
नव गायक बस्यालको देशभक्ति गीत विमोचन

पाल्पा, पाल्पाली नव गायक सुशिल बस्यालको देशभक्ति गीत विमोचन गरिएको छ । देशप्रति समर्पित गीतको सोमबार एक औपचारिक कार्यक्रमकाबिच तानसेनमा विमोचन गरिएको हो ।

गीतको प्रमुख अतिथि तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले विमोचन गरेका हुन् । गीत विमोचन गर्दै प्रमुख अतिथि बस्यालले नव गायक बस्याल जस्ता नव प्रतिभाहरुको प्रतिभालाई स्थानीय सरकारले संरक्षण गर्ने बताए । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको पनि रहेकाले आफुहरुले नवप्रतिभाहरुको संरक्षणमा ध्यान दिने उनले बताए । गायक बस्यालले देशप्रति देखाएको चिन्ता र चासोलाई गीतमार्फत देखाउन खोजेको कुरा आफैमा प्रशंसनिय रहेको अध्यक्ष बस्यालले बताए । गीतले राजनीति गर्ने नेताहरुको चरित्रलाई उजागर गरेको उनले उल्लेख । अध्यक्ष बस्याले युवाहरुकै कारण देश विग्रिएको भन्दै युवाहरु सचेत हुनुपर्ने धारणा व्यक्त गरे । उनले जबसम्म युवाहरुले खराबलाई खराब र राम्रोलाई राम्रो भन्न सक्दैनन् तब सम्म नेता नसुध्रिने र मुलुक नबन्ने बताए । प्रमुख अतिथि बस्यालले देश परिवर्तनमा कलाकार, पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको भन्दै खराबलाई खराब र राम्रोलाई राम्रो भन्ने सोंचको विकास गर्न आग्रह गरे । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले कलाकार र साहित्यकारहरुलाई प्रचारवादी नबन्न आग्रह गरे ।

पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले नव गायक बस्यालले ल्याएको गीतको सबैले प्रचार–प्रसार गरेर हौसला प्रदान गर्न जोड दिए । उनले नव गायक बस्याल सोध, खोज, अठोट र नेतृत्व क्षमता भएका प्रतिभाशाली व्यक्ति समेत रहेको बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, कलाकार चित्रवलीराम सुवाल, धवल पुस्तकालयका अध्यक्ष युवाराज पौडेल, शीत काव्य समाज नेपाल पाल्पाकी अध्यक्ष इन्द्रीरा ज्ञवाली, साहित्यकार नारायण घिमिरे लगायतले गीतको सफलताको शुभकामना व्यक्त गरेका थिए । देशको सिमा मिचिएको, हत्या हिंसा, बलात्कार जस्ता विकृतिहरुलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।

गीतमा देश र समाजमा राम्रो गर्ने व्यक्तिहरुको खुट्टा तान्ने प्रवत्तिलाई समेत गीतमार्फत देखाउन खोजिएको छ । गीतमा स्वर, शब्द बस्याल आफैले गरेका छन् । शंकर घिमिरेको संगीत, शब्द सम्पादन शंकर बस्याल, प्रायोजक खेम गोपाल थापा, फोटो ग्राफी सुमन कार्की, कलाकारहरु ज्ञानलाल भट्टराई, तारा कार्की र प्रदिप गैरे रहेका छन् । आशिका प्रोडक्सनको प्रस्तुतिमा गीत बजार आएको छ । विमोचन कार्यक्रम नव गायक सुशिल बस्यालको अध्यक्षता, कलाकार आयाम कार्कीको स्वागत, सन्तोष गहतराजको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update