Shittalpati
पाल्पाका पर्यटकीय क्षेत्र भरिभराउ

पाल्पा, नयाँ वर्षका दिन जिल्लाका पर्यटकीय क्षेत्रहरु भरिभराउ भए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले यहाँका पर्यटकीय क्षेत्रहरु श्रीनगरडाँडा, रानीमहल, भैरवस्थान लगायतका क्षेत्रहरु भरिभराउ भएका हुन् ।

यहाँका क्षेत्रमा नयाँ वर्षमा घुम्नका लागि आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो वर्षमा कोरोना जोखिमका कारण भीडभाड गर्न रोक लगाइएकोमा बाहिर घुम्न नपाइएकोमा यस वर्ष भने कोरोना संक्रमण जोखिम न्यून भएकाले रमाइलो र आनन्द लिनका लागि घुम्न निस्केको श्रीनगरमा भेटिएका रुपन्देहीका प्रेम रिजालले बताए । उनले नयाँ वर्षको पहिलो दिन भएकाले परिवारसहित रमाइलो र मनोरञ्जन लिनका लागि बुटवलबाट श्रीनगरडाँडामा घुम्न आएको बताए । ‘अरु बेला आफ्नो काममा व्यस्त भइन्छ, नयाँ वर्ष छोराछोरीलाई रमाइलो र हौसला बढाउनका लागि घुम्न आएको हुँ’, उनले भने । रानीमहलमा परिवार सहित घुम्न पुगेका पाल्पा बगनासकाली गाउँपालिकाका उमेश गैरे पनि नयाँ वर्षलाई परिवारको खुशी र मनोरञ्जन प्रदान गर्नका लागि समय मिलाएर घुम्न निस्केको बताए ।

‘अरु समय अफिसको काममा व्यस्त भइन्छ, फुर्सद नै मिल्दैन’, उनले भने, ‘वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुशी साट्नका लागि आएको हुँ ।’ गैरे र रिजाल जस्तै सयौं मानिसहरु श्रीनगर, रानीमहल, भैरवस्थानमा नयाँ वर्ष मनाउन पुगेका छन् । कोभिड संक्रमणका कारण दुई वर्षदेखि नयाँ वर्षमा पनि सुनसान रहेका यहाँका यि क्षेत्रहरुमा यस वर्ष भने निकै नै चहलपहल बढेको हो । श्रीनगरडाँडा वनभोजसँगै नाँच गान गर्नेहरुले खचाखच थियो । यहाँका पर्यटकीय क्षेत्रहरुमा रूपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, र अर्घाखाँची लगायतका ठाउँबाट मानिसहरू आएका थिएरु। बिहीबार दिनभर यहाँका पर्यटकीय क्षेत्रहरुमा घुइँचो लागेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update