Shittalpati
त्रिपदीय लघु काव्य : त्रिशूल

      पुष्कर अथक रेग्मी, पाल्पा
            परिकल्पनाकार

कविता ,आख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै आएको छ । कवितालाई आकार प्रकारका दृष्टिले निकै साना देखि ज्यादै ठूला स्वरूपसम्ममा बर्गीकरण गरिएका छन् । कविताको सवैभन्दा सानो इकाईलाई लघुतम कविता
भनिन्छ ।
साहित्यको कविता विधा अन्तर्गत बिभिन्न उपविधाहरू परिकल्पना प्रयोग र प्रस्तावनाहरू हुँदै आएका छन् । यस्ता उपविधाहरू द्विपदीय, त्रिपदीय, चतुष्पदीय,पंचपदीय र षष्टपदीयसम्मका रहेका छन् । बिशेषत ः हाइकु , सुसेली , बाछिटा ,छेस्का,उदक लगायतका त्रिपदीय उपविधाहरू प्रयोगमा आइरहेकोमा ’ त्रिशूल ’ लाई पनि यश पंक्तिकारद्वारा मिति २०७८ भाद्र २२ गते कुशे औशीका दिन अर्थात मोति जयन्तीको दिनदेखि कविताको लघुतम उपविधाको रूपमा परिकल्पना प्रस्ताव गरिएको हो ।
त्रिशूल त्रिपदीय लघुतम काव्य संरचनामा लेखिन्छ । यो २ +३+२=७ अक्षर , ३+२+३ = ८ अक्षर र ३+३+३= ९ अक्षरको संरचनामा लेखिन्छ । अर्थात त्रिशूल तीन पंक्ति भित्र सप्तक्षरिय , अष्टाक्षरिय नवअक्षरिय संरचनामा लेखिन्छ । लघुतम काव्यको रूपमा “ त्रिशूल “ को परिकल्पना गरी प्रस्तावित गरिएको छ । त्रिशूल अनुप्राश मिलेका र नमिलेका दुवै शैलीमा लेख्न सकिन्छ । अनुप्रास मिलेका त्रिशूलहरूमा वढी काव्यिक रोचकता पाइन्छ । त्रिशूल लेख्दा रहरले मात्र नलेखी बिम्ब प्रतीक र रसमय अर्थपूणर् एवं सूत्रबद्ध लेख्ने प्रयास गर्नु पर्दछ । त्रिशूल लेख्ने केही नियम , सूत्र र उदाहरणहरूलाइ यहाँ प्रस्तुत गरिएको छ ।

(१) २+३+२ =७ अक्षर संरचनाका त्रिशूल

(क) अनुप्रास मिलेका त्रिशूल

काव्य
त्रिशूल
भाव्य ।१।

यात्रा
जिन्दगी
जात्रा ।२।

ऐले
मान्दिन
मैले ।३।

( ख ) अनुप्रास नमिलेका त्रिशूल

जय
शंकर
भोले ।१।

अहो
ललाट
मेरो ।२।

कस्तो
समय
रैछ।३।

(२) ३+२+३=८ अक्षर संरचनाका त्रिशूल

(क) अनुप्रास मिलेका त्रिशूल

चटक
कति
पटक ।१।

देउता
ढुङ्गा
एउटा ।२।

लफङ्गो
सारै
धतङ्गो ।३।

(ख) अनुप्रास नमिलेका त्रिशूल

कविता
हुन्छ
रसिलो ।१।

आहा
नेपाली
ठिटो । २।

यौटा
मान्छेको
साथ ।३।

(३) ३+३+३=९ अक्षर संरचनाका त्रिशूल

(क) अनुप्रास मिलेका त्रिशूल

नयन
भरिको
चयन ।१।

धूपमा
सजेकी
रूपमा ।२।

भन्कियो
भेटमा
सन्कियो ।३।

(ख) अनुप्रास नमिलेका त्रिशूल

कविता
सुनियो
उनको ।१।

पहिलो
बैशाख
महिना ।२।

मन्चमा
गरेको
भाषण ।३।

उल्लेखित तीन सूत्र नियमका आधारबाट जतिपनि त्रिशूल लेख्न सकिन्छ । अनुप्रास मिलेका त्रिशूलहरू लेख्दा तीनवटा अनुप्रास मिलेका र कुनै दुइवटा अनुप्रास मिलेका त्रिशूल लेख्न सकिन्छ । अनुप्रास नमिलेका त्रिशूलहरूमा पनि पहिलो र दोस्रो त्रिशूलको अन्त्यमा अनुप्रास मिलाउन सकिन्छ जस्ले गर्दा त्रिशूलमा गेयात्मकता आउँछ ।
त्रिशूल अर्थपूणर् , स्पष्ट, चोटिलो र संदेशमूलक हुनुपर्दछ । त्रिशूल लेख्दै गर्दा शव्द चयन र भाषाशैली अभिधात्मक हुनु भन्दा बिम्बालकांरपूणर् लाक्षणिक र व्यञ्जनात्मक भएमा त्रिशूल दमदार रागात्मक , सौन्दर्यमयी काव्य हुन जान्छ । अतः त्रिशूल लेख्न सिकौं । सिकेपछि हाम्रा त्रिशूलहरूले अचुक काव्यिक प्रहार गर्नेछन् । सिकारू , उदियमान , क्रियाशील, सशक्त , स्थापित , वरिष्ठ साहित्यकार सबैमा त्रिशूल प्रणाम। नेपाली लघुतम काव्यको बिकासमा नवीनतम् योगदान गरौं ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update