Shittalpati
रानीमहलमा ‘रानीघाट दरबार संग्रहालय’

जगदीश भट्टराई

पाल्पा, नेपालको ताज महल र प्रेमको प्रतिकका रुपमा रहेको पाल्पाको रानीमहल दरबारमा ‘रानीघाट दरबार संग्रहालय’ निर्माण गरिएको छ । संरक्षणको अभावमा कूरुप बन्दै गएको ऐतिहासिक रानीमल दरबारलाई चिटिक्क पारेर संग्रहालय निर्माण गरिएको हो । तत्कालिन राजा खड्ग शमशेरले रानी तेजकुमारीको संम्झनामा विस १९५४ मा निर्माण गरेको दरबार संरक्षणको अभावमा कुरुप जस्तै बनेका बेला तानसेन नगर सरकारले त्यसको संरक्षण गरी संग्रहालय बनाएको छ । नगर सरकारले रानीमहल आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न रानीमहल दरबारलाई संग्रहालयका रुपमा विकसित गरेको हो ।

खड्ग शमशेरले निर्माण गरेको सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्री राखिएको छ । त्यस्तै त्यहाँ पुग्ने जो कोही पर्यटकहरुले खड्ग शमसेर र रानी तेजकुमारीको फोटोसँग सेल्फी खिच्न सक्ने छन् । यो महलले एक सय बर्ष भन्दा पुरानो उमेर पार गरेको भए पनि केही दिनदेखि तानसेन नगर सरकारको पहलमा भएका मर्मत सम्भार र त्यहाँ रहेका पुराना सरसमानको प्रर्दशनीयुक्त संग्रहालय निर्माणले गर्दा पर्यटकको आर्कषणको केन्द्र बन्दै गरेको महशुस हुन थालेको छ ।

उक्त संग्रहालयको निर्माणपछि तानसेन नगर सरकारका प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उनले पत्रकार भेटघाटसँगै रानीघाट दरवार संग्रहालयको उद्घाटन गरेका हुन् । संग्रहालयको उद्घाटन गर्दै नगर प्रमुख शाहीले रानीमहलको चिनारी र विशेषता बुझ्न र हेर्नका लागि संग्रहालय निर्माणम गरिएको बताए । उनले रानीघाट दरबार विश्वकै सबै भन्दा ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण भएका कारण पनि यहाँ हरेक किसिमका पर्यटकहरुको आर्कषणको केन्द्र बन्दै जाने कुरामा आफुहरु विश्वस्त समेत रहेको धारणा व्यक्त गरे । नगर प्रमुख शाहीले उत्तरबाहिनी कालीगण्डकी नदीको पवित्रता र शालग्राम क्षेत्रको धार्मिक प्रचारलाई महत्व दिने हो भने पनि वार्षिक लाखौं धार्मिक पर्यटकहरु ल्याउन सकिने सम्भावना भएका कारण पनि यसको प्रचार–प्रसारलाई जोड दिएको बताए । कार्यक्रममा तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी पाठकले रानीघाट दरबारको सौन्दर्यकरण पछि पर्यटन आगमनमा वढ्त्तरी हुने बताईन । उनले भनिन् ‘नगर सरकारको यो कार्यले सबैमा उत्साह थपिएको छ ।’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेले तानसेनलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न यो संग्रहालय थप आर्कषण हुने विश्वास व्यक्त गरे । नगरपालिकाका सरसफाई शाखा अधिकृत शंकर भण्डारीले रानीघाट दरबारको सफाई र सौन्दर्यकरणलाई महत्व दिइएको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका पुर्वसभापति झपेन्द गहिरेले नगरपालिकाको कार्यको खुलेर प्रशंसा गरे ।

दरबारलाई सरफाईसँगै चिटिक्क पारिएपछि त्यहाँ पुग्ने जो कोहीको मन नै लोभ्याउने गर्दछ । रातीको समयमा झिलीमिली लाईटको व्यवस्था र सरसफाईका साथै सप्तरंगी पानी फोहराको व्यवस्थापन समेत यहाँ मिलाइएको छ । तत्कालीन तैनाथवाला खड्ग सम्शेर र रानी तेज कुमारीले प्रयोग गरेका पुजा सामग्री, देवी देवताका मूर्ति, खाना खाने भाँडा, दाहिने शंख, विशाल शालग्रामको प्रर्दशनले संग्रहालयको रुप लिन थालेपछि, माघे सक्रान्तिदेखि नै सो संग्रहालय सर्वसाधारणका लागि खुला समेत गरिएको छ । रात र दिनको हेराई फरक फरक हुने भएकाले रानीमहल दरबारलाई रातीमा हेर्न मिल्ने गरी व्यवस्था गरिएको छ । रातको समयमा रानीमहल हेर्दा फरक आनन्द हुने गरेको छ । दिउँसोमा भन्दा रातीमा हेर्दा रानीमहलको फरक स्वरुप देखिएको छ । दरबारको मुख्य भाग देखी बगैचाहरु रातीमा हेर्न मिल्ने गरी लाईटहरुको व्यबस्थाले रानीमहलको सुन्दरता बढाएको त्यहाँ पुग्नेहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update