Shittalpati
पहिलो शीत काव्य ‘शीतका थोपा’ हेर्दा

पुष्कर अथक रेग्मी
शीत काव्य समाज नेपालद्वारा प्रकाशित शीत काव्यसङ्ग्रह शीतका कथा (२०७८) का लेखक, नुवाकोट जिल्ला विदुर नगरपालिका वडा ७ तुप्चे जन्म भइ हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा ९ गोंगबुमा बसोबास गर्दै आउनु भएका क्रियाशील साहित्यकार कृष्ण बहादुर के.सी. (सापकोटा) हुनुहुन्छ । माता शिवकुमारी के.सी. र पिता कर्णबहादुर के.सी.का सुयोग्य सुपुत्र कृष्णजीले व्यवस्थापनमा स्नातक उतीर्ण गर्नु भएकोछ । चुनौती (संयुक्त मुक्तक सङ्ग्रह), तुप्चे गाउँको संक्षिप्त परिचय सहित तुप्चे– काठमाडौं एकता समाजको डायरी (सम्पादन), गोसाइँकुण्डको यात्रानुभव (नियात्रा) तुप्चेको सेरोफेरो (बाल नियात्रा), हाम्रो गन्तव्य (सुसेली सङ्ग्रह) प्रकाशित गरिसक्नु भएका साहित्यकार कृष्णजीले शीत काव्यको परिकल्पना भएको दुई हप्तामै शीत काव्य कृति प्रकाशित गर्ने घोषणा गरी छोटो समयमै शीत साधनारत रही शीत काव्य सङ्ग्रह ‘शीतका कथा’ प्रकाशित गर्नुभएको छ । बिशेषतः नियात्रा साहित्यमा रुचि राख्नुहुने कृष्णजीले कविता, मुक्तक, सुसेली, षडऋतु, शीत लगायतका लघुतम काव्य विधाहरूमा समेत सशक्त रूपले साहित्य सिर्जना गरिरहनु भएको छ ।

शीत काव्य समाज नेपालको केन्द्रीय सदस्य, समाजको बागमती प्रदेश समितिको अध्यक्ष समेत रहनु भएका कृष्णजीले आफ्नो प्रातःस्मरणीय पिताजीको स्मृतिमा ‘शीत कर्ण साहित्य पुरस्कार’ समेत स्थापना गरिदिनु भएको छ । ‘शीत’ काव्यको परिकल्पना भएसंगै नियमित रूपमा शीतहरू लेख्दै आउनु भएका साहित्यकार कृष्ण के.सी. शीत सर्जक, शीत साधक हुँदै शीत काव्य समाजकै इतिहासमा प्रथम शीत ईश्वरको रूपमा प्रतिष्ठापित हुनुभएको छ । म व्यक्तिगत एवं समाजको तर्फबाट उहाँको साहित्यिक उन्नयनका साथै सुदीर्घजीवनको प्रार्थना गर्दछु । प्रथम लघु काव्य सङ्ग्रह ‘शीतका कथा’ नेपाली लघुतम शीत काव्य साहित्यको इतिहासमै प्रकाशित पहिलो एकल शीत काव्य सङ्ग्रह हो । शीत ईश्वर कृष्ण के.सी. प्रथम शीत कृतिकार हुनुहुन्छ । सङ्ग्रहभित्र बिबिध प्रकारका नियम, सिद्धान्त, सूत्रहरूमा आधारित शीतहरू रहेका छन् । शीत ईश्वरज्यूले सङ्ग्रहभित्र
शीत
काव्य
जन्म्यो
पाल्पा
बाट शीत लेखनको शुभारम्भ गर्दै शीत काव्यद्वारा नै शीतको उत्पत्ति, परिभाषा, विकास र बिस्तारको वर्णन गर्नुका साथै बाल्यकालको सम्झना, जन्मथलो प्रति सम्मान, राजनीतिक बिद्रोह र व्यङ्ग्य, सामाजिक सशक्तीकरण, आदिकवि भानुभक्त आचार्यप्रति सम्झना, कोरोना सचेतना, चरी प्रेमका साथै धार्मिक साँस्कृतिक महत्वका शीतहरू संङ्गृहित रहेका छन् । धार्मिक साँस्कृतिक शीतहरू भित्र साउने संक्रान्ति, साउन १५ विशेष, तिज पर्व विशेष, दशैं विशेष र गुरु पूर्णिमा बिशेष लगायतका विषय केन्द्रित शीतहरू रहेका छन् । शीत काव्यको इतिहासमा यो प्रकाशित पहिलो काव्य संग्रह हो र कृष्णबहादुर के.सी. पहिलो शीत इश्वर हुन् । शीत काव्य समाज नेपालद्वारा प्रकाशित कृतिभित्र साहित्यकार खेलकूद समाजका अध्यक्ष डा. शैलेन्दु प्रकाश नेपालले कृष्ण के सी शीत काव्य मार्फत नयाँ साहित्यिक अभियन्ता भएको बताउनु भएको छ भने शीत काव्य समाजका राष्ट्रिय सचिव दामोदर ढकाल ‘दीपक’ ले प्रकाशकीय मन्तव्यमा शीत काव्यलाई धेरै थरिका सुन्दर फूलहरूको एउटै मालाको रूपमा लिन सकिने भनी उल्लेख गर्नुका साथै यो शीतकाव्य साना साना नदिहरू मिलेर बनेको समुन्द्र हो भनी बताउनु भएको छ । लेखक स्वयं कृष्णजीले शीत उपविधा चटनीको रूपमा आएको र बिशेष स्थान ओगटेकोले आफूले काव्य संग्रहनै प्रकाशित गरेको बताउनु भएको छ । नियम, सूत्र, सिद्धान्त, संरचनात्मक दृष्टिकोणले हेर्दा अनुप्रास नमिलेका, अनुप्रास मिलेका, शब्द टुक्रिएका, शब्द दोहरिएका बिबिधताले पूर्ण शीतहरू रहेका छन् ।

कतै छन्दमा बहेक शीतहरू छन् त अधिकांश स्वछन्द रहेका छन् । उखान टुक्कामा आधारित शीतले नौलो स्वाद भरेको छ । शीत काव्य को रस्वादन गर्दै जाँदा आख्यानमा आधारित शीत र निबन्धात्मक शीतसंगको सामिप्यता पनि पाइन्छ  । शीतको उत्खनन् गर्दै जादाँ नवरसले ओतप्रोत शीत पाइन्छन् भने श्रृङ्गारिक शीतलाई लेखकले अलग्गै शीर्षक दिएर पस्कनु भएको छ । समग्रमा भन्नुपर्दा सङ्ग्रहभित्रका शीतहरू बिम्ब, प्रतीक, रसमय, सूत्र, मन्त्र र अर्थपूर्ण रहेका छन् । आगामी दिनमा अभिधामूलक भन्दा लक्षणा र व्यञ्जनामूलक शब्द शक्तिले भरिपूर्ण शीतका साथै अन्य काव्यशरू सिर्जना गर्ने शक्ति लेखकलाई मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रस्तुत कृति शीत स्रष्टा र द्रष्टाहरूका लागि उदाहरणीय एवं संग्रहणीय रहनुका साथै लघुतम काव्यको इतिहासमा शीत साहित्यको प्रथम कृतिको रूपमा रहिरहने छ ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update