Shittalpati
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन

पाल्पा, जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले प्रतिभिा सम्मान सहित कृति विमोचन गरेको छ । समाजले शनिबार आफ्नो स्थापनाको २७ औं वार्षिक दिवस, १७२ औं छविलाल नेपाल जन्मजयन्ती, ११९ औं माधव प्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा प्रतिभा सम्मान एवं कृति विमोचन गरेको हो ।

कार्यक्रममा समाजले साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित कृति ‘अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्य’ को जीवनी विमोचन गरेको छ । कृतिको विशिष्ट अतिथि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले विमोचन गरेका हुन् ।

समाजले हरेक वर्ष प्रदान गर्दै आएको पाल्पाली आदिकवि छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार भूगोलविद् लेखक विनोद प्रसाद श्रेष्ठ, इन्द्रराधा भारती सामाजिक सेवा प्रतिभा पुरस्कार समाजसेवी तुलशी कुमारी श्रेष्ठ र पासास सम्मान अविश्रान्त कर्मशिल साहित्यकार देवेन्द्रराज शाक्यलाई प्रदान गरेको छ । समाजले हालसम्म साहित्य र समाजसेवामा गरी सयौं व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ । कृतिको विमोचनसँगै सम्मानित व्यक्तित्वहरुलाई सम्मान गर्दै विशिष्ट अतिथि देउरालीले समाजले श्रष्टाहरुको कृति विमोचन सहित प्रतिभाहरुको सम्मान गरेर अनुकरणी काम गरेको बताए । उनले साहित्यकार देवेन्द्रराज शाक्यको जीवनी अत्यन्त पठनीय रहेकाले सबैले एक पटक अध्ययन गर्न समेत पाठकहरुलाई आग्रह गरे । देउरालीले सम्मानित व्यक्तित्वको सुदीर्घजीवनको कामना सहित समाजको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।

समाजका सचिव तथा समीक्षक महेन्द्र पन्थीले कृतिका सबल र सुधारात्मक पक्ष माथि गहन समीक्षा गरेका थिए । १२८ पृष्ठ रहेको कृति आफैमा अनुकरणीय रहेको समिक्षक पन्थीको भनाई छ । उनले निबन्धनात्मक रुपमा लेखिएको कृति अत्यन्त पठनीय र मननीय रहेको समेत बताए । पाल्पामा जन्म भई बुटवलमा कर्म गर्दै आएका देवेन्द्रराज शाक्यका हालसम्म डेढ दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । लेखक अथकका हालसम्म उपन्यास, कथा, कविता, गजल, सुसेली, नाटक, जीवनी र शैक्षिक पुस्तकहरू समेत गरी १७ वटा कृतिहरू प्रकाशित भएका छन् ।

कार्यक्रममा समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पा साहित्य समाज हामी सबैको साहित्यिक धरोहर रहेकोले सबैको सहयोगको अपेक्षा गर्दै फरक किसिमले कार्यक्रम आयोजना गर्दै जाने बताए । उनले साहित्यकारहरुलाई साहित्य क्षेत्रको विकास र विस्तारका लागि चिन्तन र मनन् गर्न आग्रह गरे । साहित्यकार टंक पन्थले साहित्यिक संघसंस्थाहरु बन्द हुँदै गएको अवस्थामा पनि पाल्पा साहित्य समाज जिल्लामा क्रियाशिल बन्दै रचनात्मक काम गरेको प्रति प्रशंसा गरे । कार्यक्रममा पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराईले समाजबाट अन्य साहित्यिक संस्थाहरुले समेत सिको गर्नुपर्ने बताए । नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले कापीका पानाहरुमा सिमित रहेका साहित्यकार तथा श्रष्टाहरुको प्रतिभालाई कृतिको रुपमा प्रकाशित गर्न समाजले सहयोग पुर्‍याएको भन्दै समाजको प्रशंसा गरे । सम्मानित व्यक्तित्व तुलशी कुमारी श्रेष्ठले आफुलाई समाजले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरिन् । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, सल्लाहकार चित्रवली राम सुवालको स्वागत र कोषाध्यक्ष पुरूषोत्तम अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update