कला/संस्कृति/मनोरन्जन

आजदेखि ‘सत्यवती मेला’, चिच्याएर सत्यवती बज्यैसँग वर मागिदैं

Shittalpati Reporter

रामचन्द्र रायमाझी

पाल्पा, पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ । तिनाउँ गाउँपालिका –४ सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा मेला सुरु भएको हो ।

हरेक वर्ष कात्तिक पूर्णिमाका दिनदेखि मनाइने यो तीन दिने मेलामा सत्यवती बज्यैसँग चिच्याएर वर माग्ने गरिन्छ । चिच्याएर वर मागेमा मनोकामना पुरा हुने जनविश्वासका कारण मेला अवधिभर बज्यैसँग वर माग्ने गरिन्छ । मेला अवलोकन गर्न आउने भक्तजनहरुले सत्यवती बज्यैसँग वर माग्दै छन् । सत्यवती बज्यै देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन परम्परादेखि नै रहेको छ ।

आजदेखि ३ गतेसम्म सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर मागिने वडा अध्यक्ष दान बहादुर गाहाले बताए । उनले भने ‘मेलाको लागि आवश्यक प्रवन्ध मिलाई सकिएको र कोभिड –१९ कायमै रहेकाले सुरक्षा मापदण्ड भने अपनाउनुपर्दछ ।’

यस वर्ष सत्यवती बजैको दर्शन तथा पूजाआजा गर्न विशेष साइत जुरेकाले गत वर्षभन्दा धेरै भक्तजन सहभागी हुने मन्दिर व्यवस्थापन समितिको अपेक्ष छ । गत वर्ष कोभिडका कारण हुन नसकेको मेला यसवर्ष केही सहज हुँदै गएकाले मेलाको सम्पूर्ण तयारी पुरा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर रानाले जानकारी दिए । साइत जुरेको समयमा सत्यवती बज्यैको दर्शन गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । विगतका वर्षमा कार्तिक शुक्ला चर्तुदर्शीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा बास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्याएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलन आजकल परिमार्जित गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रानाले बताए । केही वर्षदेखि भने कार्तिक शुक्लपक्षको त्रियादशीको दिनदेखि पूर्णिमासम्म रात दिन सत्यवती बज्यैको पूजा पाठ गरी चिच्याएर वर माग्ने गरिएको उनको भनाई छ । मेलाबाट उठेको भेटी मन्दिर व्यवस्थापनमै खर्चिने अध्यक्ष रानाले बताए ।

मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतदेखि आउने गर्दछन् । मेलामा पाल्पा, गुल्मी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतकास्थानबाट समेत भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


प्रकाशित मिति: बुधवार, मंसिर १, २०७८, ०१:०१:००
प्रतिक्रिया दिनुहोस्