Shittalpati
लोक दोहोरी प्रतिष्ठान पाल्पाले मनायो १९ औं साधारण सभा

पाल्पा, जिल्लाको लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले १९ औं साधारण सभा मनाएको छ । प्रतिष्ठानले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।

सभाको प्रमुख अतिथि तथा प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीराम पाण्डेले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले लोक संस्कृतिको संरक्षणमा लाग्न प्रतिष्ठानलाई आग्रह गरे । उनले हराउदै जान थालेको मौलिक लोकसंस्कृतिलाई जर्गेना गर्नु प्रतिष्ठानको मुख्य उद्देश्य रहेको भन्दै त्यसको संरक्षणमा लाग्न प्रदेशका सबै प्रतिष्ठानलाई आग्रह गरेका हुन् । विशिष्ट अतिथि प्रतिष्ठानका प्रदेश सचिव टीकाराम लुइटेलले लोक संस्कृति देशको सम्पति रहेकाले त्यसको संरक्षणमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताए । प्रतिष्ठान रुपन्देहीका जिल्ला अध्यक्ष दीपक कार्कीले कला, संस्कृति देशका अमूल्य सम्पति भएकाले त्यसको संरक्षण गर्नु स्थानीय सरककारको पनि दायित्व रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा लोकदोहोरी गायक केशव भण्डारीले प्रतिष्ठानले छुट्टै कार्यालय स्थापन गर्न सुझाव दिए । लोक भजन प्रतिष्ठान पाल्पाका अध्यक्ष जयप्रकाश उप्रेतीले लोक गीतहरुको संरक्षण सँगसँगै लोक भजनको संरक्षणमा पनि प्रतिष्ठानले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीना, स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय महासचिव जीवलाल सुवेदी, नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझी लगायतले लोक संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले प्रतिष्ठानले स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । सोही अवसरमा स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय महासचिव सुवेदीले प्रतिष्ठानका लागि ५ हजार रकम सहयोग गरेका छन् । उनले सभामा प्रतिष्ठानका अध्यक्ष रेखा विष्टलाई ५ हजारको चेक हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानले साधारण सभाबाट दुई जना प्रेस सल्लाहकार समेत चयन गरेको छ । उसले पाल्पा समाचार पत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सीना र नवजनचेतना दैनिका उपसम्पादक रामचन्द्र रायमाझीलाई प्रेस सल्लाहकारमा चयन गरेको हो । कार्यक्रममा प्रतिष्ठानका सचिव कमल भट्टराईले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनु खनालले ७३ हजार ७ सय बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष रेखा विष्टको अध्यक्षता, उपाध्यक्ष तिर्सना थापाको स्वागत, सचिव कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update