Shittalpati
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै

सीमा भट्टराई
पाल्पा, दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी देशभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ । यसपाली घटस्थापनाको शुभसाईत बिहीबार बिहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । दशैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरुले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, डुम्री र पाँकुरीको पात) राखी जौ र मकै छरेर घटस्थापना गरिन्छ ।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । तान्त्रिक मतालम्वीहरुले भने पञ्चमकारसहित तान्त्रिकविधिले ठूलो माटोको भेगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पाँगो माटोमा जौ र मकै छरेर जमरा राखी घटस्थापना गरिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन विहान सबेरै एक/एक तीर्थमा गई स्नान गर्नुका साथै एक/एक शक्ति पीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्ग मा अर्घ दिने गरिन्छ । विजया दशमीको दिन गुह्यश्वरी माईको पूजा अर्चना गरी नवरात्री मेला समापन गर्दछन् । नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्री मेला भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रÞमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम भएकाले दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतिकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतिकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ ।

यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ । बडादसैँको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दसैँ घर, कोट र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गर्दछन् । दश दिनको दसैँ हुने गरेको छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । तर यस वर्ष पनि भने कोरोना महामारीका कारण दसैँ पर्व उत्साहजन नहुने देखिएको छ । नेपालमा कोरोना संक्रमणको अवस्था कायमै रहेकाले सरकारले पनि घरमै बसेर दसैँ पर्व मनाउन सबैलाई आग्रह समेत गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update