Shittalpati
पाल्पामा बौद्ध जागरण अभियान

तानसेन, जिल्लामा बौद्ध जागरण अभियान सञ्चालन गरिएको छ । ज्ञानमाला संघ आनन्द विहारको आयोजनामा अभियान सञ्चालन गरिएको हो ।

राष्ट्रिय जनगणनामा बौद्ध धर्मालम्बीहरूको यथार्थ तथ्याङ्क लिन बौद्ध जागरण अभियान कार्यक्रम सञ्चालन गरिएको ज्ञानमाला संघ आनन्द विहारका अध्यक्ष उत्पल कुमार बज्राचार्यले बताए । जिल्लामा बौद्ध धर्मालम्बीहरुको यथार्थ विवरण संकलन गरी बौद्ध धर्मको विस्तारका लागि सञ्चालन गरिएको अभियानको एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय जनगणना सुपरिवेक्षक सर्जिना बज्राचार्यले जनगणना सम्बन्धी विषयमा प्रकाश पारेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद् पुरन मान बज्राचार्यले बौद्ध धर्मको विकास र विस्तारमा ज्ञानमाला संघ आनन्द विहारको महत्वपूर्ण भूमिका रहेको बताए । उनले धर्म र संस्कृति मानिसको पहिचानसँग जोडिएको धारणा व्यक्त गरे ।

कार्यक्रममा बौद्ध महिला सेवा समितिका अध्यक्ष शोभा शाक्य, नेपाल राष्ट्रिय मगर संघका उपाध्यक्ष तथा तानसेन नगरपालिका २ का जनप्रतिनिधि शान्ति झेडी, संघका पूर्व अध्यक्ष विश्व मान बज्राचार्य, ज्ञानमाला सभा महाचैत्य विहारका अध्यक्ष बुद्धरत्न शाक्य, धर्मोदय सभा पाल्पा शाखाका कावा अध्यक्ष, देव प्रसाद बज्राचार्य लगायतले आ–आफ्नो क्षेत्रबाट जागरण अभियानलाई सार्थकता पार्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष उत्पल कुमार बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष सञ्जय राज शाक्यको स्वागत, सदस्य प्रभा शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update