Shittalpati
आज खीर खाएर साउन पन्ध्र मनाइँदै

पाल्पा,  नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदै छन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।

वर्षाको झरीमा भिजिने भएकाले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।

सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ । ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ । दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिवद्र्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेला अनुसार आहारको आस्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन छ ।

परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पुणिर्णामा यमरी खाने चलन नेवार समुदायमा छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update