Shittalpati
आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै

पाल्पा,आज हरिशयनी एकादशी तुलसीको बिरुवा घर आँगनमा रोपिँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ । सोही दिन घर–घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना गर्ने गरिन्छ । हिन्दू धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो ।

तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ । हरिबोधनी एकादशीमा भगवान् विष्णु जाग्ने शास्त्रीय मान्यता छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतिकका रुपमा मानिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भन्ने शास्त्रमा उल्लेख छ । भगवान विष्णुले शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । यस वर्ष कोरोना भाइरसको संक्रमण फैलने डरले बढीको भीडभाड नगर्न सरकारले सार्वजनिकरुपमा आह्वान गरेको छ । यो पटक निषेधाज्ञा भएकाले विगतमा जस्तो मन्दिरमा भिडभाड भने कम रहेको छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update