कला/संस्कृति/मनोरन्जन

विनोद नेपालको “गोदान”

Shittalpati Reporter

                      पुष्कर अथक रेग्मी

पाल्पा पोखराथोक,माडी जन्म भई हाल वनस्थली खरिबोट ,काठमाडौमा बसोबास गर्दै आएका विनोद नेपाल “बैगुनी” को नियात्रा संग्रह ,देश विदेश ( २०७६)र लघुकथा संग्रह गोदान(२०७७) प्रकाशित भएका छन् । भूगोल साहित्य समाज काठमाडौंद्वारा प्रकाशित लघुकथा संग्रहभित्र बिनोदले बिगतमा फेसबुकको समूह लघुकथा कुनोमा पोष्ट गरेका लघुकथाहरूको संगृहित स्वरूप हो । संग्रह भित्र ५६ वटा लघुकथाहरू प्रकाशित रहेका छन ।

विनोदले लघुकथाभित्र राजनीति ,सामाजिक ,पारिवारिक ,धार्मिक ,साँस्कृतिक,मनोबैज्ञानिक आदि पक्षहरू समेटेर महनीय ,पठनीय एवं संग्रहणीय सुन्दर संदेशमूलक कथाहरू पस्किएका छन् । जुन कथाहरूको रसस्वादन गर्दा पाठकहरू निकै नै एकाग्र भइ संन्टुष्टी लिन सक्छन् । संग्रहका लागि साहित्यकार बिधान आचार्यले भूमिका,दीपक लोहनीले लघु समीक्षा र दिनेश बिक्रम थापाले प्रकाशकीय लेखेका छन् । भूगोल साहित्य समाजका अध्यक्ष समेत रहेका विनोद नेपालले समाज स्थापनाको बर्षदिनमै पुस्तक प्रकाशन गरी व्यक्तिगत एवं संस्थागत जीवनका लागि उल्लेखनीय कार्य गरेका छन् ।

लघुकथा भित्र देश दुखेको कुरा, परिवार चुकेको, माया लाएको ,गोता खाएको,गरीबी र अभाव ,राजनीतिक प्रभाव, संभावनाको खोजी , विकृति र बिसंगतिको भण्डाफोर गरिएका छन् । विश्वास , निर्णय,द्विविधा ,परम्परा ,कथा,सपना,सिण्डिकेट,सहभोज,व्रत,खानदान,क्वारेन्टाइन ,गोदान जस्ता कथाहरू यस संग्रह भित्रका उत्कृष्ट कथाहरू हुन् ।

अन्तिम कथा गोदान रहेको छ र यसैको नामबाट लघुकथा संग्रहको नाम पनि “गोदान” राखिएको छ । जस्ले जे जस्तो पाप,खराब काम र नीति बिरूद्धको काम गरेपनि अन्तमा गोदान परे पनि सब चोखिन्छ भनी मिठोसंग यथार्थवादी ब्यग्य प्रहार गरिएको छ । वास्तवमा अचेल व्यक्ति ,घर,परिवार,समाज,राष्ट्रका पापीहरूले गोदान गरिरहेका छन् । नेपाली साहित्यमा विनोदको उपस्थिति लघुकथाकारको रूपमा मात्र नभई नियात्राकारको रूपमा समेत भईसकेको छ । उनले कविता बिधा भित्रका उपविधाहरू साइनो, हाइकु,मुक्तक,खोरिया आदि समेत लेख्दै र सामाजिक सञ्जाल एवं विभिन्न पत्रपत्रिकाका साथै संयुक्त संगालोहरूमा समेत प्रकाशित गर्दै आएका छन् । गोदान एक बसाइमा पढन सकिने, पढेपछि छाडन मन नलागी पुरै किताब पढन मन लाग्ने महनीय रहेको छ । अधिकाशं कथामा  “ऊ” पात्रको प्रयोग गरिएको छ । पात्रको नाम नलेखी “ऊ” को प्रयोग गर्नु लेखकीय वैशिष्ट्यता रहेको छ । “ऊ” भनेको म , तपाईं , हामी सबै हौ । पढदै जादा कतिपय पात्रको स्वरूप आँखा अगाडिनै आउँछ । कथा,पात्र ,सूत्र ,बिम्ब ,प्रतीक र रहस्यले भरिएको कथा संग्रह गोदानको निष्कर्षको सारनै समाधान सहितको समस्या देखाउनु हो । अर्थात् लघुकथा संग्रह गोदानले सुन्दर र शान्त संभावनाको खोजी गरेको पाईन्छ ।

संग्रहभित्र स्वस्थानी प्रंसगका तीन लघुकथा छन् । एउटै पर्व देखाउनु भन्दा अरू नै पर्व देखाएको भए सांस्कृतिक व्यापिकरण समेत हुने थियो । कृतिभित्र सात पृष्ठ खाली रहेका छन् भने , ९ वटा कथामा मात्र ३–५ हरफका लागि पृष्ठ थप गरिएको छ । यसो नगरी सेटिङ/ सम्पादनमा बिशेष कला देखाएको भए संग्रहको संरचना अझ सुन्दर र आकर्षण हुने थियो । प्रत्येक कथाको अन्त्यमा लेखन मिति राखिएको भए अझ सुनमा सुगन्ध हुने थियो । अन्तमा खोजेर,मागेर या किने रै भएपनि एक पटक “गोदान” सबैले पढौ । विनोदजीको आगामी साहित्यिक जीवन अझ कथामय बनिरहोस् । सम्पूर्ण शुभकामना !


प्रकाशित मिति: आइतवार, जेठ २३, २०७८, ०७:०८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

निष्ठुरी काल ! आइतवार, जेठ २३, २०७८, ०७:०८:००
ताङ्का : जितगढी नेपाल आइतवार, जेठ २३, २०७८, ०७:०८:००