Shittalpati
अथकको ‘अमर पात्र’अध्ययन गर्दा

रामचन्द्र रायमाझी ‘चिन्तन’
पाल्पा साहित्य समाजद्धारा प्रकाशित,नाटककार पुष्कर अथक रेग्मीद्वारा लिखित कृति ‘अमर पात्र’ ऐतिहासिक नाटकहरुको संग्रह हो । संग्रहभित्र चार वटा नाटकहरु रहेका छन् । पहिलो नाटक ‘‘बिशाल पाल्पा राज्यका निर्माता : मणिमुकुन्द सेन’ शिर्षकमा पाल्पाली सेन वंशीय प्रतापी राजा मणिमुकुन्द सेनको जीवनीसँग सम्बधित रहेको छ । नाटककारले मणिमुकुन्द सेनको जन्मदेखी चक्रशीलामा प्रवेश हुदाँ सम्मको अवस्थालाई छोटकरीमा नाटकमा रुपान्तरण गरेका छन् । यस नाटकलाई कविता, मुक्तक, हाइकु, थाङ्का, गजल, लोकलयको माध्यमद्वारा प्रस्तुत गरिएको छ ।
सुत्रधार निर्देशक र शोधार्थीहरुद्वारा एउटै दृश्यमा नाटक प्रस्तुत गरिएको छ । दोस्रो नाटकको शीर्षक ‘‘पाल्पा राज्यका अन्तिम सेन वंशीय राजा पृथ्वीपाल सेन’’ रहेको छ । विशाल पाल्पामा राज्यका राजा पृथ्वीपाल सेनलाई केन्द्र बिन्दु बनाई सिर्जना गरिएको यस नाटकमा ६ वटा दृश्यहरु रहेका छन् । पहिलो दृश्य वि.सं. १८६१ बैसाखमा पाल्पा राज्यको सदरमुकाम तानसेन श्रीनगर दरवारमा बसेको देखाइएको छ । दृश्य : दुईमा काठमाडांै हनुमान ढोका दरवारमा बैठक बसेको छ । तेस्रो दृश्यमा गोर्खालीहरुले पाल्पा माथी आक्रमण गरेपश्चात श्रीनगर दरबार परिसरमा भागाभाग गर्दाको अवस्था चित्रण गरिएको छ । दृश्य चारमा ललितपुरको बन्दीगृहमा राजा पृथ्वीपाल सेन आफ्नै मनसँग सम्वाद गरिरहेका छन् । पाचौँ दृश्य रात्रीको समयमा त्रिभुवन खवासको घरमा बैठक बसिरहेको छ भने छैठौं दृश्य भण्डारखालको रहेको छ । जहाँ राजा रणबहादुर शाहका बिरोधीहरु र पाल्पाली राजा पृथ्वीपाल सेनलाई लहरै राखेर काटिएको छ । तेस्रो नाटक ‘‘पाल्पा गांैडाकाप्रथम तैनाथवाला : जरनल अमरसिंह थापा’’ शीर्षकमा रहेको छ । यस नाटकमा वि.सं. १८६१ देखी १८७१ सम्मका घटनाक्रम देखाईएका छन् । पहिलो दृश्यमा पाल्पालाई नेपालमा विलय गराए पश्चात नारायण स्थान मन्दिरमा गौंडावासीहरुको उपस्थितिमा शान्तिपूर्ण बैठक बसेको छ । दोस्रो दृश्यमा अम्बर नारायण मन्दिरको निर्माण सम्पन्न सगैँ आर्थिक, सामाजिक, सैनिक र न्याय प्रशासनमा गरिने कार्यहरु उल्लेख गरिएका छन् । दृश्य चारमा नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरिसकेपछि तिनाउ नदिको तिरमा लक्ष्मीनारायणको मन्दिरमा पुजा गरिएको छ । पाचौँ दृश्यमा धर्मात्मा काजी अमरसिंह थापाको देहावसान पश्चातको अवस्थालाई चित्रण गरिएको छ । शान्तिपूर्ण आगमन स्तब्धपूर्ण प्रस्थान भन्दै सुत्रधारले नाटक अन्त्य गरेका छन् । चौथो नाटक “पाल्पा क्षेत्रबाट नेपाल अंग्रेज युद्ध बिजेता ः कर्णेल उजिर सिंह थापा”शीर्षकको रहेको छ । पन्ध्र दृश्यमा रहेको यस नाटकमा झ्याउरे भाका र सम्वादात्मक गरी दुई शैली प्रयोग गरिएका छन् ।

    पुष्कर अथक रेग्मी
   पुष्कर अथक रेग्मी

 

कर्णेल उजिर सिंह थापाको पाल्पा–तानसेन आगमन युद्धको तयारी रणनितिहरु अंग्रेजहरु माथि दुई–दुई पटकसम्म जित हासिल गरी विजयोत्सव , सुगौली सन्धीप्रति गरिएको आपत्ती , पाल्पामा रणउजिरेश्वरी भगवती जात्राको प्रारम्भ,पाल्पागांैडाको विकासका लागि भएका प्रयासहरु र अन्त्यमा उजिर सिंह थापा बिरामी भएको र उपचारको लागि काठमाडौं लगिएको दृश्य देखाइएको छ ।

अन्त्यमा सुत्रधारले उजिर सिंहको मृत्यु भएको र उजलादेवी सति गएको बताएका छन् । नाटकको अन्त्यमा सुत्रधार यसरी प्रस्तुत भएका छन् । “सुपुत्र दिन्छन् माटोले मागोस् प्राणको आहुती उजिरलाई राज्यले कहोस् राष्ट्रिय बिभूती” नाटककार अथकले कर्णेल उजिर सिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । नाटककारले नाटक संग्रह तयार पार्दा अध्ययन गरेका अन्ठाउन्न वटा स्रोत सामग्रीहरुको सूचि समेत पुस्तकको अन्त्यमा दिएका छन् । जसले गर्दा नाटकको अझ ऐतिहासिक पुष्टि भएको छ । प्रा.डा. भवेश्वर पंगेनीले भूमिका लेख्दै भनेका छन् “‘अमर पात्र’ नाटक संग्रह अध्ययन गर्दा यसमा पाल्पाको ऐतिहासिक जानकारी दिने उद्देश्यले लेखिएको यो नाटक नेपालको नाटक विधामा यस प्रकारको पहिलो होला जस्तो लागेको छ ।” समग्रमा भन्नु पर्दा नाटकले इतिहास बोकेको छ । सेनवंशीय पाल्पा राज्यको गौरव बोकेको छ । जन्मभूमि पाल्पा र कर्मभूमि पाल्पा भएको ऐतिहासिक पात्रहरुको खोजी निति गरेको छ । इतिहासलाई नाटकीकरण गरी सरल भाषामा सबैले बुझ्न बुझाउन सक्ने बनाइएको छ । आजभन्दा ५०० देखी १९४ वर्ष अघिका ऐतिहासिक घटनाहरुलाई वर्तमानमा प्रस्तुत गरिएको छ । नाटक संंग्रहणीय रहेको छ । जम्मा १२४ पृष्ठ रहेको नाटक संग्रहको मूल्य संस्थागत रु ४५० र व्यक्तिगत रु २५० रहेको छ । उपन्यास , लघुकथा, जीवनी, कविता, नाटक, गजल, गेडी एंव शैक्षिक पुस्तकहरु गरी दर्जनौ साहित्यिक कृतिहरु प्रकाशन गर्नुका साथै विभिन्न पत्रपत्रिकाहरुमा साहित्यिक समीक्षाहरु प्रकाशन गरी नेपाली साहित्यको चारवटै विधामा सशक्त कलम चलाउदै आएका पुष्कर अथक रेग्मीको साहित्यिक उन्नयनकोे कामना गर्दछु ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update