Shittalpati
पाल्पाली साहित्यकारहरु कपिलधामबाट फर्किए

पाल्पा, साहित्यतीर्थ, कपिलधाम (कपिलवस्तु)को एक दिने अवलोकन भ्रमणमा निस्किएको पाल्पाली साहित्यकारहरुको एक टोली पाल्पा फर्किएको छ । शनिबार शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा साहित्यतीर्थ, कपिलधाम गएको साहित्यकारहरुको टोली जिल्ला फर्किएको हो । कपिलवस्तुको साहित्यिक क्षेत्रको भ्रमणसँगै अवलोकनमार्फत जिल्लाको साहित्य क्षेत्रको विकासका लागि टोली त्यसतर्फ गएको थियो । साहित्यकारहरुले उक्त साहित्यिक तीर्थस्थल कपिलधामको अवलोकन र अध्ययन गरेका छन् । उक्त स्थानको अवलोकन,अध्ययन पछि उनीहरुले एक औपचारिक कार्यक्रमको आयोजना गरी सिर्जनावाचन समेत गरेका थिए ।

सिर्जनावाचन कार्यक्रममा प्रमुख अतिथि देवकोटा साहित्य परिषद,पाल्पाका अध्यक्ष भागवत खनालले शोख,शोक,झोंक र भोकका कारणले साहित्यको सिर्जना हुने बताउदै हरेक विम्ब र प्रतिकबाट कविता प्रस्फुटन हुने बताए । पाल्पाली साहित्यकारहरुले पाल्पाको साहित्यलाई राष्ट्रिय स्तरमै ब्यापीकरण गर्दै गएको बताएका छन् । प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीले प्रतिष्ठानमार्फत पाल्पाका साहित्यिक गतिविधिलाई प्रचार–प्रसारमा ल्याउने,कपिलधामको अवलोकन र अध्ययन गर्ने,साहित्याकारहरु बिच सौहार्दपूर्ण भेटघाट गरी कपिलचौतारीका परिकल्पनाकार स्व.प्रा.बिष्णुराज आत्रेयलाई श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । प्रतिष्ठानले यस बर्षदेखि साहित्यिक यात्रा आयोजना गरेको र आगामी दिनमा पनि गर्ने सोच रहेको प्रतिष्ठानका महा सचिव चन्द्रकान्त न्यौपानेले बताए । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले पाल्पाको साहित्यको श्रीवृद्धिका लागि अध्ययन भ्रमण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कपिलधाम व्यवस्थापन समितिका अध्यक्ष शंकर प्रसाद आचार्य साहित्यकार हरिराजशर्मा स्व.साहित्यकार बिष्णुराज आत्रेयका सुपुत्र डा. आलोक आत्रेय,पत्रकार मुक्ति न्यौपाने लगाएतले प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा गरेको काम प्रसंशा गरेका थिए । यात्रामा चकलेटक्वीजको समेत आयोजना गरिएको थियो ।

कपिलमुनिको आश्रम कपिलधाममा अग्रज अमर साहित्यकारहरुको शालिक स्थापना गरिएको छ । कपिलचौपारीमा १०८ जना साहित्यकारहरुको शालिक स्थापना गर्ने सोच स्व.साहित्यकार बिष्णुराज आत्रेयले लिएका थिए । हालसम्म करिव तीन दर्जन साहित्यकारहरुको शालिक स्थापना भइसकेको छ । कपिलधामलाई एशियाकै साहित्यिक पर्यटकीय गन्तव्य बनाउने सोच धामले लिएको प्रतिष्ठानले जनाएको छ । साहित्यिक यात्रामा ६४ जनाको सहभागिता रहेको थियो । जसमा पाल्पालीहरु ४५ जना थिए । विभिन्न जिल्लाका सहभागीहरु १९ जना रहेका थिए । पाल्पाली साहित्यकारहरु ३१ जना अन्य जिल्लाका साहित्यकार ९ जना गरी चालीस जनाले कवितावाचन गरेका थिए । पुष्करराज रेग्मीको अध्यक्षता र उपाध्यक्ष रोहित ज्ञवालीको स्वागत र महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update