Shittalpati
गायक भट्टराईको कोसेली ‘जे गरे नि चल्छ नेपालमा’

पाल्पा, सिद्धबाबा सडक खण्डको अपार सफलतापछि पाल्पाली गायक कमल भट्टराईले ‘जे गरे नि चल्छ नेपालमा’ बोलको राष्ट्रभक्ति गीत बजारमा लिएर आएका छन् । सार्वजनिक समस्याको रुपमा रहेको सिद्धबाबा सडक खण्डकाका विषयमा समेटिएको गीत आमदर्शक, स्रोता माझ पोस्किसकेका गायक भट्टराईले पुनःराष्ट्रपभक्ति गीत कोसेलीका रुपमा बजारमा लिएर आएका हुन् । उनको शब्द, संगीत र लय रहेको उक्त गीत धिताल फिल्मसले बजारमा ल्याएको छ । उक्त गीतमा भट्टराई र गायिका ममता कोइरालाले स्वर दिएका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिका ३ मा जन्मिएका भट्टराई पछिल्लो समय लोकदोहीरी र हाँस्य विधाको क्षेत्रमा निकै चर्चित बनेका छन् । पाल्पाली हाँस्य कलाकारका रुपमा रहेको आयाम कार्कीको निर्देशन रहेको भिडियोमा सोम आले, लेखनाथ ढकाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यस गीतको छायांकन/सम्पादन पाल्पाली सञ्चारकर्मी सन्तोष बस्यालले गरेका छन् । यसको छायांकन तानसेन सेरोफेरोका क्षेत्रमा गरिएको छ । देशको समसामयिक अवस्थालाई चित्रण गरिएको गीतमा नेताहरुको कार्य शैली, देशले भोग्नु परेको समस्या र जनताका समस्यालाई शब्दमार्फत गीतमा प्रस्तुत गरिएको छ । गायक भट्टराईले माया प्रितिका गीतहरु भन्दा पनि सामाजिक, सांस्कृतिक र देशप्रेमी गीतहरु गाउने गरेका छन् । लोकगीतहरुमा कर्णप्रिय आवाज दिदै आएका गायक भट्टराई हाँस्य विधामा समेत उत्तिकै दख्खल राख्र्ने गर्दछन् । पछिल्लो पुस्तामा देशप्रतिको भाव हराउँदै गएपछि त्यसलाई पुर्नताजगी दिनको लागि देशभक्ति गीत बजारमा ल्याएको उनले बताए । गायक भट्टराई र कोइरालाले यस अघि बजारमा ल्याएको सिद्धबाबा सडक खण्डको गीतले दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update