Shittalpati
‘पिरतीको नसामा’ फसेका गायक काफ्लेको लय,शब्द रहेको ‘गुन’ सार्वजनिक

पाल्पा । पिरतीको नसामा फसेका नवगायक तथा सञ्चारकर्मी दिनेश काफ्ले पुनः ‘गुन’ लिएर बजारमा आएका छन् । लोकदोहीरीको क्षेत्रमा उदाउँदै गरेका काफ्लेले लय, शब्द,सिर्जना र अभिनय गरेको गीत ‘गुन’ यु्ट्युब च्यानलमार्फत बजारमा आएको हो । सञ्चारकर्मी काफ्लेले यस अघि ‘पिरतीको नसा’ लोकदोहोरी गीत सार्वजनिक गरेर स्रोताको मायाका पाएका थिए ।

काफ्लेको लय,शब्द रहेको गीतमा लक्ष्मण विश्वकर्मा र धनी गाहाँको स्वर रहेको छ । पछिल्लो समयका चर्चित बनेका पाल्पाली कलाकार राज राईको निर्देशन रहेको भिडियोमा सञ्चारकर्मी काफ्लेसंगै निता गहतराजले अभिनय गरेका छन् । प्रेम सापकोटा सोनु यु्ट्युब च्यानलमार्फत बुधबार यो गीत बजारमा आएको छ । गीतको छायांकन गायक काफ्लेको जन्मभूमि पर्वत विहादी गाउँपालिकाका आसपासका क्षेत्रहरुमा गरिएको छ ।

यस अघि स्वर, लय, शब्द सिर्जना र अभिनयमा रहेको लोकदोहोरी गीत ‘पिरतीको नसा’को अपार सफलतापछि काफ्लेले गुन लोक गीत बजारमा ल्याएका हुन् । यस गीतमा गायकले पिरतीमा विछोड भएपछि प्रेमिकाप्रति लक्षित गर्दै कुनै दिन त गुन तिम्लाई लाउन्छु होला नी माया गर्ने अधिकार नपाएपनि निष्ठुरी सम्झिएर रुन त पाउन्छु होला नि भन्दै शब्दमार्फत व्यक्त गरेका छन् ।

गायक तथा सर्जक काफ्लेले यस अघि ‘पिरतीको नसा’ रुपै हेर्ने ऐना, पहिलो माया गुमाए जस्ता गीतमा आफ्नो लय, शब्द तथा स्वर दिइसकेका छन् । विहादी गाउँपालिका ६ जामुने पर्वतमा काफ्ले परिवारमा जन्मिएका उनी २०७४ सालमा पाल्पा आएका हुन् । अध्ययनसँगै रेडियोमा आवद्ध काफ्ले बाल्यकालदेखि नै गीत संगीतमा रुची राख्ने र घर परिवारको प्रेरणाले यस क्षेत्रमा लागेको बताउँछन् । सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफुलाई यस क्षेत्रमा अब्बल बनाउँदै आएका उनले तानसेनबाट सञ्चालित युनिक एफएममा विगत ३ वर्षदेखि लोकसांगीतिक कार्यक्रम चलाउदै आएका छन् । काफ्लेले सानो उमेरदेखि नै यस क्षेत्रमा लाग्ने रुची रहेको र घर परिवारको सहयोग र समर्थनले गर्दा नै आफु यस क्षेत्रमा लागेको बताए ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update