Shittalpati
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो दर्जनौंलाई सम्मान

पाल्पा । जिल्लामा क्रियाशिल साहित्य संस्था शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले दर्जानौं व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले पन्ध्रौ वार्षिक दिवस तथा कवि कुलमणि देवकोटाको ९२ औं जन्मजयन्ती समारोहको अवसरमा विभिन्न व्यक्तिहरुलाई शनिबार तानसेनमा सम्मान सहित छात्रवृत्ति प्रदान गरेको हो । जिल्लाको सामाजिक, राजनीतिक, साहित्यक, शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका परोपकार, अभिप्रेरणा, कमलराज रेग्मीबारे जानकार, प्रतिष्ठानलाई हेर्ने दृष्टिकोण, नेतृत्व एंव समन्वयकारी भूमिका निर्वाह गर्दै आएका दर्जानौ व्यक्ति र विद्यार्थीहरुलाई प्रतिष्ठानले सम्मान गरेको छ ।

यस वर्षको कमलराज रेग्मी वर्ष पुरस्कार २५ हजार रुपैयाँ नगद र अभिनन्दन पत्र सहित समाजसेवी राधा भारतीलाई प्रदान गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष पुष्करराज रेग्मीले बताए । कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार मरणोपरान्त साहित्यकार पवनकुमारी देवी श्रेष्ठ, लक्ष्मीप्रिया जगतबहादुर जोशी स्मृति पुस्कार मरणेपरान्त पुष्पलता श्रेष्ठ र इन्द्रलाल भारती शिक्षा सेवा सम्मान मरणोपरान्त नवराज शर्मालाई प्रदान गरिएको छ । यसरी नै पत्रकार एवं साहित्यकार विके पाल्पालीलाई जगतकुलमणि कविन्द्र त्रिनक्षत्र पुरस्कार, पत्रकार देव पचभैयालाई शक्तिराज रेग्मी सञ्चार सेवा सम्मान, मिना राना थापालाई विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कार, स्वयंसेवक रुद्रप्रसाद शर्मालाई राधा बद्री स्मृति स्वयंसेवा सम्मान, तुलसीप्रसाद न्यौपानेलाई बालहरि स्वास्थ्य सेवा सम्मान, छविलाल भुषाललाई दिनानाना साहित्य सेवा सम्मान र विज्ञा तिमिल्सेनालाई तुलठगी शैक्षिक पुरस्कारद्वारा सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष रेग्मीले जानकारी दिए ।

यस्तै कार्यक्रममा प्रतिष्ठानले विभिन्न दश वटा विद्यालयका छात्रछात्राहरुलाई विमला कमल छात्रवृत्ति, पाँच जना छात्राहरुलाई ज्ञानज्योति छात्रवृत्ति, एक जना छात्रालाई माता दिनकुमारी छात्रवृत्ति र सिविका छात्रवृत्ति एक जना छात्रालाई प्रदान गरिएको छ । छात्रावृत्ति रकम जनही ३ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा प्रमुख अतिथि ९४ वर्षिय देवतुल्य गुरू पद्मनाथ शर्माले आफ्नो जीवन अनुभव सुनाउँदै संस्थामा लागेकाहरुलाई अधिकारको खोजी गर्नुभन्दा बढी कर्तव्यको पालना गर्न भन्दै सबैलाई आशिरवचन दिएका थिए ।

कार्यक्रममा सदस्य भोजराज भट्टराईले सम्मानित व्यक्तिहरु माथि प्रकाश पारेका थिए । गुणवती केसी, रामप्रसाद अर्याल, चित्रवलीराम सुवाल, त्रिलोचन पौड्याल, देव पचभैया, ज्ञानेन्द्रचन्द्र श्रेष्ठले प्रतिष्ठानको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा त्रिलोचन पौड्यालले प्रतिष्ठानमा दश हजार रुपैयाँको अक्षयकोष थप गरिदिएका दिएका छन् ।कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष विनोद भारतीले ५ लाख ८३ हजार ३४ रुपैयाँ बराबरको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता,उपाध्यक्ष रोहित ज्ञवालीको स्वागत, महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update