कला/संस्कृति/मनोरन्जन

अभिशापी भ्रमण (लघु कथा)

Shittalpati Reporter

मनबहादुर खत्री ‘मनु’
इस्मा–२, मैनडाँडा, गुल्मी
करिब सत्ताइस वर्ष अगाडि प्रकाशले गाउँको एक विद्यालयमा कक्षा नौमा पढ्थ्यो । शैक्षिक भ्रमणको योजना थियो । साथीहरू भ्रमण स्थल रोज्दै थिए । बढी पैसा लैजाने योजना बुन्दै थिए कोही त । माघे चिसो ज्यादा थियो । प्रकाश एकसरो कमिजमा थुर्थुर काम्दै कुनामा बसेको थियो । पहिलो घण्टी बज्यो । मुस्कुराउँदै कमल सर कक्षामा छिर्नुभयो । हाजिर गरी भ्रमणको प्रस· उठाउनु भयो सरले । कहाँ–कहाँ जाने ? सरको प्रश्न थियो । सुरजले ‘पाल्पा, लुम्बिनी’ भन्यो । रमेशले ‘पोखरा’ थप्यो । ‘काठमाडांै पनि’, विजय चिच्चायो । सबैले आ–आफ्नो रहरको ठाउँ बताए ।

सरले दुई दिने लुम्बिनी भ्रमणको लागि जनही पाँच सय रुपैयाँ खर्च लाग्ने बताउनुभयो । प्रकाशका लागि यो मोटै रकम थियो । झस्कियो । छ महिनादेखिको स्कूलको शुल्क बाँकी थियो उसको । मेलापातबाट हुने उसका बाबा–आमाको झिनो कमाइ खाना मै सकिन्थ्यो । भ्रमण अभिशाप बनेर तेर्सियो । घोप्टो मन्टो लाएर नबोली बस्यो प्रकाश । उसको आमाले पाँचमै पढ्दा मामासँग दिल्ली जा, भन्दा मानेन । पढेर ठूलो मान्छे बन्ने सपना देख्यो । तर गरिबको लागि असम्भव रहेछ । अफ्ठेरो मानेर पुस्तकको पाना पल्टाउँदै मन थाम्न खोज्यो थाम्न सकेन । हिक्क गर्‍यो । सरले पुलुक्क हेर्नुभयो । उसको आँखाबाट आँसु बर्षियो । के भयो प्रकाश ? सन्चो छैन कि ? भन्दै सरले उसको निधारमा छाम्नुभयो । ज्वरो डाह थिएन । के समस्या छ ? भन भन्नुभो । ऊ बोल्नै सकेन । ‘पैसा नभएर रोएको होला नि !’ चक्रे प्याच्च बोल्यो । ‘भ्रमण जान त धनी बाउको छोरा हुनुपर्छ,’ तिर्खे खित्कियो । सरले उनीहरुलाई हप्काउनुभयो र मनिल मुद्रामा अफिसतिर लाग्नुभयो । प्रकाश रिसले मुर्मुरियो । लाहुरेको छोरा हौ, फुर्ती नगर । इमान्दार र सोझो साथीको खिल्ली उडाउन लाज लाग्दैन, घमण्डीहरू ? अनिताले चक्रे र तिर्खेलाई झपारिन् । रितुले प्रकाशका लागि सबैले दस/दस रुपैयाँ थप उठाउने प्रस्ताव राखिन् । धेरै साथीहरूले स्वीकारे । प्रकाश किताब छोपेर कक्षाबाट निस्कदै थिथो । कमल सर र हेडसर आउनुभयो । कहाँ जान हिँडेको ?

बाबु ! हेडसरले सोध्नुभयो । ‘घर’, प्रकाशले भन्यो । हेडसरले बस्न भन्नुभयो । ऊ मुस्किलले एकछिन बस्यो । उत्कृष्ट विद्यार्थी भएकोले आफूहरूले उसको खर्च बेहोर्ने भन्दै हेडसरले प्रकाशलाई भ्रमणमा सामेल हुन भन्नुभयो । टिल्पिलाएका आँखा पुच्छ्दै हेडसरले भन्नुभयो, ‘तिमी बिना हाम्रो भ्रमण शून्य हुन्छ, प्रकाश ।’ साथीहरू खुसीले ताली पिटे । प्रकाश पनि खुसी देखियो तर चक्रे र तिर्खेको वचन बिजाइ रहेछ कि कुन्नी ? उसले घरमा आमा विरामी परेकोले उहाँको हेरचाह गर्नु पर्ने निहुँ पार्‍यो । अन्ततः पिसाबले च्यापे जस्तो गरी सरसँग शौच जाने अनुमति लिएर कक्षाबाट बाहिरियो । अनि उतैबाट दिल्लीतिर लाग्यो ।

 


प्रकाशित मिति: शनिवार, मंसिर ६, २०७७, १२:०५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

आज देशभर छठ पर्व मनाइदै शनिवार, मंसिर ६, २०७७, १२:०५:००
लुम्बिनीमा पर्यटकको चहलपहल शनिवार, मंसिर ६, २०७७, १२:०५:००
सञ्चारकर्मी काफ्ले ‘पिरतीको नसामा’ शनिवार, मंसिर ६, २०७७, १२:०५:००
विक्रीका लागि राखिएका झिनियाँ : शनिवार, मंसिर ६, २०७७, १२:०५:००