Shittalpati
संरक्षणका लागि बाजा हस्तान्तरण

स्याङ्जा । परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङ नगरपालिका वडा नं १३ ले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सीपकार एकता समाज वालिङ–१३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा बजाउनका लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएपछि समूहमा आवद्ध सदस्य खुशी भएका छन् । कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाइरहेका बेला नौमती बाजा पाएपछि उनीहरु खुशी भएका हुन् । आफ्नो परम्परालाई जोगाइराख्नुपर्छ भनेर लागेका ७० वर्षीय डिलबहादुर दमाइले वडा कार्यालयले बाजा उपलब्ध गराएकामा निकै खुशी लागेको बताए । बाह्र वर्षको उमेरदेखि बाजा बजाउन शुरु गरेका उनले भने, ‘मैले सानै उमेरदेखि बाजा बजाउन शुरु गरेँ, ७० वर्षको उमेर हुँदासम्म पनि बजाउन छाडेको छैन, अहिले पहिला–पहिलाभन्दा बाजा बजाउने चलन कम हुँदै गएकाले समूहमा आवद्ध भएर परम्परागत बाजाको संरक्षणमा लागेका छौँ ।’ 

आफूहरुसँग भएका पुराना बाजा जीर्ण भएकाले समस्यामा परेको बेला नयाँ बाजा पाउँदा खुशी लागेको रमेशबहादुर दमाइले बताए । वडाध्यक्ष आनन्द पाठकले परम्परा र संस्कृतिको संरक्षणसँगसँगै दमै समुदायलाई आयआर्जनमा सहयोग पुगोस् भनेर नौमती बाजा हस्तान्तरण गरिएको बताए । वडासचिव लुमाकान्त भट्टराईले रु एक लाख ८० हजार बराबरको नौमती बाजा हस्तान्तरण गरिएको जानकारी दिए । नौमती बाजा बजाउनका लागि प्रयोग गरिने सनाइ, ढोलक दमाहा, कर्नाल, ट्याङ्को, झुर्मालगायतका सामग्री रहेको वडा कार्यालयले जनाएको छ । –रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update