Shittalpati
लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले मनायो साधारण सभा

पाल्पा । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले साधारण सभा मनाएको छ । प्रतिष्ठानले कोरोना महामारीका बिच एक औपचारिक कार्यक्रमको आयोजना गरी आफनो १८ औं साधारण सभा मनाएको हो । कोभिड १९ का कारण कार्य समिति मात्र उपस्थित भई सभा मनाएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रमुख अथिति तथा प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेले संस्थाले पाल्पाली कलाकारहरुको हकहितमा काम गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

उनले कोरोना महामारीका कारण जनजीवन नै प्रभावित बनिरहेको अवस्थामा जिल्लाका लोक दोहोरी कलाकारहरुको सक्रियता महत्वपूर्ण रहेको बताए । अध्यक्ष पाण्डेले कला संस्कृति राष्ट्रको गहना भएको र यसको संरक्षणका निम्ति कलाकारहरु निस्वार्थ भावनाका साथ निरन्तर लागिपरेकाले स्थानीय सरकारले पनि यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । साथै उनले कला संस्कृतिको जर्गेना र संरक्षण गर्नु स्थानीय सरकारको पनि दायित्व भएको भन्दै आगामी बजेटमा कला संस्कृतिको क्षेत्रमा निती तथा कार्यक्रम ल्याउन स्थानीय सरकारलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रतिष्ठान लुम्बिनी प्रदेशका सचिव टिकाराम लुइटेलले संस्थाको थप सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष अनु खनालले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिष्ठानका जिल्ला अध्यक्ष रेखा विष्टको सभापतित्व, प्रथम उपाध्यक्ष तिर्सना थापाको स्वागत, सचिव कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update