Shittalpati
आज देशभर विश्वकर्मा पुजा गरिदैं

पाल्पा । विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गरेर आज विश्वकर्मा पूजा मनाइदै छ । यस दिन कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गर्ने गर्दछन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाई विश्वकर्मा मन्दिरमा जाने गरिन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुन्द्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो । प्राचिन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । यही सम्झनामा कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । गाडी मर्मत सम्भार गर्ने ग्यारेज लगायत हरेक साना ठूला फ्याक्ट्रीमा सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update