Shittalpati
गजलकार गणेश नेपालीको ‘छाती चर्किएपछि’

पुष्कर अथक रेग्मी
कसम तोडेर पिउन आँटिएछ फेरि
ख्याल खयालमै आज मातिएछ फेरि

खुट्टा घुमाउन कहिले नजान्ने म मान्छे
बेतालसँग उफ्रिएर नाँचिएछ फेरि

तलमाथि खाल्टामा कता–कता परिएछ
ब्युँझदा त हात खुट्टा भाँचिएछ फेरि

ज्यान लुलो भएर इज्जत गुमे पनि
ठूलै कालबाट धन्न बाँचिएछ फेरि

कुरा चलेपछि जताततै मेरो नाममा
हेर ‘गनु’ सँगै जड्याहा गाँसिएछ फेरि

गजल संरचनाको ज्ञानविना गजल लेख्न सकिदैँन । गजलमा दुई पंक्तिहरु मिलेर बनेको एक संयुक्त रुपलाई शेर भनिन्छ । सामान्यतया न्यूनतम तीन शेरका गजलले पनि मान्यता प्राप्त गरिसकेको अवस्थामा सबैभन्दा उत्तम पाँच शेरसम्मको गजललाई मानिन्छ । प्रस्तुत गजलमा शुरुका दुई युग्म पंक्तिनै गजलको पहिलो शेर हो । गजलको पहिलो पंक्तिलाई मतला भनिन्छ । मतलाको पहिलो हरफलाई मिसरा ए उला तथा दोस्रो हरफलाई मिसरा ए सानी भनिन्छ । अन्त्यानुप्राश मिलेका पद वा शब्दलाई काफिया भनिन्छ । प्रस्तुत गजलमा आँटिएछ, मातिएछ, नाँचिएछ, भाँचिएछ, बाँचिएछ, गाँसिएछ शब्दहरु काफिया हुन् । गजलको पहिलो शेरको दुवै हरफमा र त्यसपछि भने प्रत्येक शेरको दोस्रो पंक्तिमा काफिया आवश्यक हुन्छ ।

काफियापछि जुन शब्द वा वाक्य एकनासले दोहोरिएर आउँछ त्यसलाई नै रदिफ भनिन्छ । यहाँ ‘फेरि’ शब्द रदिफको रुपमा आएको छ । जति दोहोर्‍याएर आएपनि मिठो लाग्ने र गेय हुने भएकोले रदिफले गजललाई सुन्दर बनाउँछ । गजलको अन्तिम शेरलाई मकता भनिन्छ । अन्तिम शेर मकतामा गजलकारले आफ्नो नाम उपनाम वा विशेष नामको प्रयोग गर्नुलाई ‘तखल्लुस’ भनिन्छ । प्रस्तुत गजलको अन्तिम शेरमा प्रयोग भएको ‘गनु’ शब्द नै तखल्लुस हो ।

गनु गजलकार गणेश नेपालीको नाम हो । पाल्पा बगनासकाली गाउँपालिका बगनास निवासी पिता धनबहादुर नेपाली र माता उत्तरकुमारी नेपालीको सुपुत्र गणेश नेपाली (२०३०) पाल्पाबाटै गजल कृति प्रकाशित गर्ने अगुवा गजलकार हुन् । वाङमय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘छाती चर्किएपछि’ (२०६०)गणेश नेपालीको पहिलो गजल संग्रह हो । यस कृतिभित्र वि.सं.२०५० देखि २०५८ सम्म लेखिएका र विभिन्न पत्रपत्रिकाहरुमा छापिएका ६१ वटा गजलहरु संग्रहित रहेका छन् । संग्रहभित्र सर्वाेत्तम मासिक, काँचुली द्वैमासिक, कान्तिपुर साप्ताहिक, निष्पक्ष साप्ताहिक, दैनिक जनसंघर्ष, दैनिक लुम्बिनी, कलापुञ्ज मासिक, साप्ताहिक जनसत्ता, नवयुगवाणी, गोरेटो मासिक, साहित्य सागर, साप्ताहिक राज्यसत्ता, श्रीनगर, छहारी द्वैमासिक, कोपिला, पूर्णिमा द्वैमासिक, सुदामा द्वैमासिक, दैनिक मुक्ति सन्देश, चौतारी दैनिक, भूकम्प द्वैमासिक, जनचेतना साप्ताहिक, भावना दैनिक लगायतका पत्रपत्रिकाहरुमा प्रकाशित ३७ वटा र अप्रकाशित २४ वटा गजलहरु रहेका छन् । संग्रहभित्र एउटा सात शेरको, छ वटा चार शेरको, तेह्र वटा छ शेरको र एकचालिस वटा पाँच शेरको गजलहरु रहेका छन् ।

नेपालीको पहिलो गजलले भार, हार, पार, अन्धकार, दोधार भयो जिन्दगी भनी गुनासो गरेको छ । उनले बाह्रौ गजल मार्फत नेताहरुले जनतालाई हतियार बनाउँछन्, लडाउँछन्, आफँै हराउँछन्, महल ठडाउँछन्, सम्पत्ति कमाउँछन्, आसेपासे रमाउँछन् भन्दै तिखो व्यंग्य प्रहार गरेका छन् । छब्बिसौँ गजल मार्फत उनले शीर्षक दिए मात्रै गजल हुँदो रैछ, परिश्रम विनाको पनि मिठो फल हुँदो रैछ, रातदिन मेहनत गर्ने सधैँ तल हुँदो रैछ, नातावाद, कृपावाद चाकरीमा ठूलो बल हुँदो रैछ भन्दै बिग्रिएको गजल संरचना, कामचोर प्रवृत्ति, मेहनतको अवमूलयन, चाकरी र चाप्लुसीको दुनियामाथि दह्रो प्रहार गरेका छन् ।

एकपल्ट रुन पाए त मन हलुङ्गो हुन्छ । पीर व्यथा आँसुले धुन पाए, मुलुकले गतिलो कानुन पाए, होलाकि, फेरिएला कि भन्ने आश थोरैको गुन पाए जस्ता बाउन्नौ गजलको अभिव्यक्तिबाट गजलकारले सबैलाई आशावादी हुन सिकाएका छन् । कहिल्यै अर्काको मुख ताकिएन, कसैलाई डाकिएन, मनमा कुरा राखिएन, देवी देवता भाकिएन, असत्यलाई ढाकिएन, सेवा गरेर कहिल्यै थाकिएन भन्दै अन्ठाउन्नौ गजल मार्फत ‘गनु’ कर्मयोगी बन्न सबैलाई आÞवान गर्छन् । अन्तिम एकसठ्ठी औँ गजल मार्फत गनु ले झुपडीका मनहरु रोका छन्, भ्रष्टाचारीहरु नै चोखा छन्, ठूला वडाहरुसँग नै धन सम्पत्ति सुखका पोका छन् । यस्तो भएतापनि हाम्रा नेताहरु नै सधैँ भोका छन् । भन्ने कटु सत्य ओकलेका छन् । गजलमार्फत वि.सं. २०५८ ज्येष्ठ १ गते गनुले गरेको सत्यको उदघोष् अहिले झन् झ्याँगिदै गएको छ । हाम्रा नेताहरु जति नै धनी भए पनि व्वाँसा जस्ता सधैँ भोका छन् । ‘गनु’ जस्ता हजारौँ र ‘गनु’ भन्दा उत्पीडित लाखौँ मनहरुको पीडा भाव दिन दुगुना रात चौगुना बढ्दो छ । प्रजातन्त्रको पुन ः प्राप्ति भएको डेढ दशकको सेरोफेरोमा लेखिएका ‘गनु’का गजलहरुको देशको मुहार नफेरिएको, जीवनस्तर नउकासिएको, गरिबी नहटिएको, धेरैको चुहिने छानाहरु नफेरिएको, नारीको सिन्दूर पुछिएको, आमाको कोख रित्तिएको, भ्रष्टाचार झ्याँगिदै गएको सत्य, तथ्य, यथार्थलाई एकसठ्ठी गजल मार्फत प्रस्तुत गरिएका यी गजलहरु प्रकाशन भएके १८ वर्ष भईसक्दा पनि सदावहार गजलको रुपमा रहेका छन् । किनकी मुलुकको वर्तमान अवस्था ‘गनु’ ले गजलमा प्रस्तुत गरेको भन्दा अझ दयनीय, क्रन्दनीय, विचारणीय रहेको छ । मुलुक अस्तव्यस्त अलपत्र छ । जिम्मेवार राष्ट्र सञ्चालकहरु एक हुन नसकिरहेको अवस्था छ । विधिको शासन हुनुपर्नेमा व्यक्तिको आधिपत्यता कायम रहँदै गएका छन् । हरक्षेत्रमा क्रमभंगता छन् । व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाबिच तालमेल मिलेको छैन । लोकतान्त्रिक गणतन्त्र मुलुकका जनताहरुको सपनाहरु दिनानुदिन हुरिले उडाएर लगिरहेका छन् । नेपालीको मन, मुटु र मस्तिष्कहरु छिया–छिया परेका छन् । अहिले ‘गनु’को मात्र होइन समस्त नेपाल र नेपालीका साथै पृथ्वीवासी मानिसहरुको छाती चर्किएको छ ।

गजल संरचनालाई ध्यानमा राख्नु, तखल्लुसको प्रयोग उचित स्थान र भावसहित हुनु, गैरवहरमै लेखिएको भएता पनि गेयात्मकतालाई पछ्याईनु, सम्भावनाको खोजी गर्दै समृद्ध नेपाल बनाउने चाहना राख्नु, मूलधार भित्रै रही गजल सिर्जना गर्नु, प्रकाशित गजलका स्रोतहरु र सबै गजलहरुमा लेअन मिति उल्लेख गरिनु यस संग्रहको सबल पक्षहरु हुन् । वर्णविन्यास, शुद्धिकरण र सम्पादन पक्षलाई ध्यानमा राख्दै, रदिफ र काफियाको प्रयोगलाई अझ रोचक र घोचक रुपमा सम्बन्ध स्थापित गर्दै शेरहरुकै समझदारीबाट अझ बलियो ओजस्वी र अर्थपूर्ण गजल संरचनाहरुको तयारी सहितका अझ विशिष्ट गजलहरु प्रकाशित हुँदै जाउन् । ‘छाती चर्किएपछि’ पठनीय, उदाहरणीय, संग्रहणीय कृतिको रुपमा रहेको छ । संयुक्त गजल संग्रह ‘स्रष्टा सिर्जना पाल्पा’ (२०७५) र लघुकथा संग्रह ‘अछूत’ (२०७६) समेत प्रकाशित गरिसकेका अगुवा गजलकार गणेश नेपाली ‘गनु’का गजलहरुमा विशेषत : समतामूलक समाजको अपिल पाइन्छ । गनुको बाँकी जीवन समृद्ध र गजलमयी बनिरहोस् । अनगिन्ती बधाई ! सम्पूर्ण शुभकामना !

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update