Shittalpati
परम्परा धान्न मन्दिर परिसरमै भगवती जात्रा निकालिने

कृष्ण पोखरेल

तानसेन । कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिने भएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा विजयोत्सव मन्दिर परिसरमा मात्र निकालिने भएको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर व्यवस्थापन समितिले परम्परा र ईतिहास नटुटोस् भनि मन्दिर परिसरमा मात्र जात्रा सञ्चालन गर्ने तयारी गरेको छ । विभिन्न पक्ष, नागरिक समाज, धार्मिक तथा साँस्कृतिक तहबाट कोरोनाको सावधनी अपनाएर विधि र परम्परा जोगाउनु पर्ने आवाज उठिरहेको समयमा आवश्यक व्यक्तिहरुको सहभागितामा मन्दिर परिसरमै भगवती जात्रा मनाउन लागिएको हो । यही साउन २८ गते विहान १० बजेदेखी १२ बजेसम्म रथ निकालिने साईत जुरेको छ,। समितिले पौनी १२ बजे नै रथ उठाउने तयारीमा रहेको समितिका अध्यक्ष राजेश्वर उदयले बताए । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भगवतीको विजय उत्सवको रुपमा रहेको रथलाई ३ पटक मन्दिरको परिक्रमा गराउने, नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासन, नेपाली सेना, प्रहरी तथा तानसेन नगरपालिकाको तर्फ पुजाआजा सलामी दिईसकेपछी सर्वसाधारण नागरिकको नाममा पुनः ३ पटक मन्दिर घुमाएर विर्सजन गर्ने कार्यक्रम रहेको अध्यक्ष उदयले बताए । विस १८७१ देखी १८७२ सम्मको अंग्रेजसँगको युद्वमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप विस १८७६ देखी यो विजयोत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्वमा विजय प्राप्त गरेको थियो ।

विगतको समयमा कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा भएपनि यसपटक नेपाली सेनाले मात्र रथ मन्दिर वरीपरी घुमाउने कार्यक्रम रहेको समितिका सचिव भिमसेन कार्कीले जानकारी दिए । सर्वसाधारणका लागि भदौ २८ गते विहान ११ बजेसम्म सुरक्षाकर्मीको निगरानीमा मन्दिरमा दर्शनको व्यबस्था गरिएको र ११ बजे पछी प्रवेश निषेध गरिएको सचिव कार्कीले बताए । मन्दिरभित्रै रथयात्रा हुने भएपछि नेपाली सेना गोरखदल गणका जवान तथा स्थानीवासी मन्दिरको सरसफाई रंगरोगनमा जुटेका छन् । भजनमण्डलीहरु भजनको तयारीमा जुटेका छन् । सर्वसाधारण आम नागरिकहरुमा इतिहास तोडिने भो परम्परा हराउने भो भन्ने चिन्तालाई मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसर भित्रै रथ घुमाएर परम्परालाई जिवित बनाएको संस्कृतिकर्मी राजेन्द्रगोपाल सिंहले बताए ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update