Shittalpati
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’

रामचन्द्र रायमाझी
पाल्पा । हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिदै छ । विगतका वर्षहरुमा यतिबेला तिजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरु दर खान दौडिरहेका हुन्थे । महिला दिदीबहिनीहरु जम्मा भएर गीत मार्फत बेदनाहरु पोख्ने गर्थे । तर, विश्वभर नै फैलिएको कोरोनाले गर्दा यसपाली परिस्थिति भिन्न छ । कोरोनाबाट जोगिनका लागि चार महिनासम्म देशलाई लकडाउनमा राखियो । अहिले पनि अवस्था सहज छैनन् । दिनप्रति दिन संक्रमितको संख्या र मृतकको संख्या बढ्दै गएको छ । पार्टी प्यालेस लगायत मानिसहरुको जमघट हुने स्थानहरुमा रोक लगाइएको छ । यसले गर्दा अहिलेसम्म तिजको माहोल तात्न सकेको छैन । नेपाली लोकसंस्कृतिका लागि पनि महत्वपूर्ण अवसर हो तिज । विगतमा तिज आउनु एक महिना अघिदेखिदै महिलाहरु दर खाना र नाँच गान गर्नमै निकै व्यस्त रहन्थे । तर, यसपाली कोरोनाले गर्दा महिलाहरु न नाँच गान गर्न पाएका छन्, नत माइत नै जान पाएका छन् ।

महिलाहरुलाई साहित्यको माध्यमबाट समाज रुपान्तरणमा लाग्न प्रेरित गर्दै आएको साहित्यक संस्था नारी साहित्य तथा साँस्कृतिक प्रष्ठिान पाल्पाले भने यस वर्ष कोरोना महामारीका कारण जमघट हुन सक्ने वातावरण नभएपछि तिजमा व्यक्त गरिने महिलाहरुको बेदनालाई समेटेर महिला स्रष्टाहरुद्वारा तयार पारिएको तिज गीत संग्रह ‘पाउर’ ल्याएको छ । कोरोना महामारीका कारण महिला दिदी बहिनीहरुलाई जमघट गराएर तिज गीतमार्फत बेदना प्रस्तुत गर्न नपाए पनि पुस्तक मार्फत पिर, बेदनाहरुलाई सार्वजनिक गर्ने प्रयास गरिएको प्रतिष्ठानकी अध्यक्ष मन गहिरेले बताइन् । उनले कोरोनाको कहरसँग हाम्रो देश पनि गुज्रिरहेका बेला आफ्नो परम्परा संस्कृतिलाई जोगाउन पाल्पाका २९ जना नारी स्रष्टाहरुद्वारा संकलन गरिएका गीतहरु पाउरमा समावेश गरिएको बताइन् । उक्त संग्रहको शनिबार तानसेनमा एक कार्यक्रमका बिच विमोचन समेत गरिएको छ । पुस्तकको जिल्ला समन्वय समितिका कार्यवाहक सभापति मिरा मरासिनी, साहित्यकार तथा प्राध्यापक डा.शंकर गैरेले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचना कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी जिल्ला समन्वय समितिका कार्यवाहक सभापति मरासिनीले वर्तमान विषम परिस्थितीमा पनि प्रष्ठिानले नेपाली लोकसंस्कृतिको संरक्षणमा देखाएको सक्रिता र चासो अत्यन्त प्रशंसनिय रहेको बताइन् । उनले साहित्यको माध्यमबाट नै समाज रुपान्तरण गर्न सकिने भएकाले महिलाहरुलाई नेपाली साहित्यको श्रीवृद्धिमा सशक्त ढंगले लाग्न आग्रह गरिन् । विशिष्ट अतिथि साहित्यकार तथा प्राध्यापक डा.गैरेले समाज परिवर्तनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महिलाहरु आफ्नै कारणले पछि परेको भन्दै परिवर्तनका लागि आफैबाट सुरुवात गर्न महिलाहरुलाई आग्रह गरे । डा.गैरेले भने ‘महिलाहरुले खाली पुरुषलाई मात्र दोष दिने र आफुहरुले कहिल्यै पनि व्यवहार परिवर्तन गर्न नसक्दा महिला पछाडी परेका हुन् ।’ उनले कमजोर विषय उठान गरेकै कारण महिला सधँै पछाडी पर्नुपरेको धारणा व्यक्त गरे ।

कार्यक्रममा महिला नेतृ तथा नेपाल महिला संघका जिल्ला उपाध्यक्ष मीना पन्थीले महिला पछाडी पर्नुको मुख्य कारण महिला नै भएको बताइन् । उनले एक महिलाले अर्को महिलालाई सम्मान गर्न नसक्दा महिला सधैँ पछाडी पर्नु परेको धारणा व्यक्त गरिन् । पन्थीले भनिन् ‘समाज परिवर्तनका लागि एक महिलाले अर्को महिलालाई सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’ पोखरा साहित्य संगमका अध्यक्ष तथा साहित्यकार हरि भट्टराईले महिला परनिर्भर नभई आफै आगाडि बढनुपर्नेमा जोड दिए । कार्यक्रममा साहित्यकारहरु लक्षिमा ज्ञवाली, इन्द्रा गहतराज, रचनाकारहरु रमा पन्त, शारदा पाण्डे लगायतले संकृति र आर्दशलाई जोगाउन अब महिलाले कलम चलाउनु पर्र्ने बेला आएको बताए । उनीहरुले महिलाहरु अझै पनि पुरुष सरह हुन नसकेको भन्दै महिलाहरुमा धेरै प्रतिभा छन् तर अवसर नहुँदा पछि पर्नु परेको धारणा व्यक्त गरे । पाउर तिज गीत संग्रहमा २९ जना स्रष्टाहरुद्वारा कोरोना, हत्या, हिंसा, बलात्कार, नारीका पीडा, वेदना, विकृति, विसंगती, राष्ट्रप्रेम लगायतका विषयलाई सन्देशमूलक रुपमा प्रस्तुत गरिएको छ । कार्यक्रममा साहित्यकार विजया पन्तले उक्त गीतहरुको समीक्षा गरेकी थिइन् । प्रतिष्ठानकी अध्यक्ष मन गहिरेको अध्यक्षता, उपाध्यक्ष चेतना थापाको स्वागत, सचिव मञ्जु कोइरालाको सञ्चालनमा विमोचन कार्यक्रम भएको थियो । सोही अवसरमा प्रतिष्ठानले आजीवन सदस्य शारदा ढकाललाई सम्मान समेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update