Shittalpati
कोरोनाका कारण पाल्पाका ऐतिहासिक जात्रापर्व प्रभावित

रामचन्द्र रायमाझी
पाल्पा । हरेक वर्षको साउन महिना पाल्पामा जात्रा पर्वको सिजन सुरु हुन्छ । साउनको अन्त्यसम्म जिल्लाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् । तर यस वर्ष भने कोरोना महामारीका कारण जिल्लामा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वका जात्रा र पर्व रोकिएका छन् । विशेषगरी जिल्लाका नेवारी समुदायले पूजाआजा गरी विभिन्न जात्रा र पर्व मनाउँदै आएका छन् । जिल्लामा गाईजात्रा, रोपाइँजात्रा, भगवतीजात्रा, चुईकी फिराई, अमर नारायण, गणेश, भिमसेन लगायतका जात्रापर्व हुँदै आएका छन् । यस वर्ष गाईजात्रा, रोपाइँजात्रा, गणेशजात्रा गइरसकेकाले यि जात्रापर्वको भने औपचारिकतामात्र पूरा गरिएको छ । तानसेनमा सरकारको निर्णय अनुसार भिडभाड नगरी धार्मिक विधि पूरा गर्ने र सांकेतिक रूपमा मात्रै अन्य जात्रा–पर्व पनि मनाउने तयारी थालिएको छ । सांस्कृतिक तथा धार्मिक महत्वका जात्रा पर्व र संस्कृतिमा एकैपटक प्रभाव परेको यो पहिलोपटक हो । यसअघि एकैपटक सबै जात्रा पर्व स्थगित भएका थिएनन् । भूकम्पका बेलामा समेत नरोकिएका जात्रा यसपटक प्रत्यक्ष प्रभावित भएका हुन् ।

विगतका वर्षहरूमा गाईजात्राको भोलिपल्ट तानसेनसहित हार्थोक, प्रभास, ताँहु, आर्यभञ्ज्याङ, रामपुर, सराई लगायतका बजारमा रोपाइँजात्राको रमाइलो हुन्थ्यो । तर यो वर्ष भने तानसेन लगायतका कुनै पनि स्थानमा रोपाइँजात्रा देखिएन् । सडकमै रोप्ने र सडकमै मानिसहरु नारिने गरी मनाइने रोपाइँजात्रा यस वर्ष कोरोनाका कारण प्रभावित बन्यो । स्थानीय प्रशासनले समेत यो वर्ष चाडवर्प तथा जात्राहरु नगर्न आग्रह गरेको छ । कोरोना संक्रमणबाट बच्न केही दिनअघि जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति नै जारी गरी जात्रापर्व, महोत्सव र विद्यालयहरु सञ्चालन नगर्न आग्रह गरेको थियो । जसले गर्दा जिल्लामा केही जात्राहरु सांकेतिक र औपचारितामा मात्र भएका छन् । जोखिम कायम हुँदाहुँदै पनि परम्परा संस्कृति जगेर्ना गर्ने उद्देश्यले तानसेनमा गाईजात्रा निकालिएको छ । निगुर्ण रामायण गाउँदै आफ्न्त इष्टमित्रसहित दिवंगत घरबाट गाईजात्रा निकाल्ने परम्परालाई परिवर्तन गर्दै घरपरिवारको सहभागितामा मात्र तानसेनमा केही परिवारले गाईजात्रा निकाले । नेवारी परम्परा संस्कृति जर्गेना गर्न सानो समूहमा गाईजात्रा निकालिएको स्थानीय भुगोल बैजुले बताए । विगतमा गाईजात्राको दिन भीडभाड हुने तानसेन यस वर्ष सुनसान बन्यो । त्यो दिन नत तानसेनमा गाईजात्रा निकालियो नत गाईजात्रा हेर्ने दर्शक नै आए । नेवारी समुदायबाट निकालिने यि गाईजात्रा कोभिड–१९को सक्रमण जोखिमको कारण प्रभावित बनेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । उनीहरु परम्परादेखि चल्दै आएका रीतिरिवाज नै हराउने पो हुन् कि भन्दै चिन्तित छन् ।

संक्रमण समुदायस्तरसम्म पुग्ने सम्भावना भएकाले पनि उच्च सतर्कता अपनाउनका लागि जिल्लामा कुनै पनि जात्रापर्व, महोत्सव नगर्न आम नागरिकलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘पाल्पामा यतिबेला जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो’, प्रजिअ न्यौपानेले भने, ‘सुरुका दिनमा जिल्लावासीले नै लकडाउनको पूर्ण पालना गरी शान्त थियो, लकडाउन खुकुलो भएसँगै जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।’ कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी यस वर्षको भगवती विजयजात्रा नहुने भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए । भगवतीजात्रामा मन्दिरभित्र हुने सबै पूजाआजा गर्ने, बलि चढाउने र मन्दिरवरिपरि मात्र रथयात्रा गर्ने गरी तयारी गरे पनि सर्वसाधारण सहभागितामा रथायात्रा नहुने उनले जानकारी दिए । अध्यक्ष उदयले भने ‘सांस्कृतिक जीवन महत्वपूर्ण भए पनि त्योभन्दा आफ्नो स्वास्थ्य महत्वपूर्ण रहेको छ,यस्तो परिस्थितिमा घर–घरमै जात्रापर्वको विधि पुर्‍याऔँ, तर उत्सव नगरौँ,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update