कला/संस्कृति/मनोरन्जन

माटोको सुगन्ध खोज्ने रहर

Shittalpati Reporter

दुर्गा रायमाझी

‘अरू कालो रेलको धुवाँले, म त कालो छातालाई ओढ्दै नओढ्नाले।।।’ यो गीतका सर्जक लालबहादुर खातीको मृत्युमा आएको खबरले दुर्गा रायमाझीलाई पिरोलिरह्यो । खबर थियो लालबहादुरको अन्तिम संस्कार गराउन पनि चन्दा उठाउनु पर्‍यो । ‘ढुङ्गे बगर माया ढुङ्गे बगर।।।’, ‘ए दिदी पोइ पर्यो काले।।।’, ‘बारीको डिलमा ओखरबोट।।।’ लगायत दर्जनौं लोकप्रिय लोकगीतका सर्जकको यो हालत रु उनलाई यो प्रश्नले लपेटिरह्यो । हुन पनि हो गीत–संगीत व्यावसायिक भइसकेको थिएन । आत्मसन्तुष्टि र रहरका लागि मात्रै गीत गाइन्थ्यो । अनि कमजोर आर्थिक अवस्था भएका कलाकारको हालत किन नहोस् त यस्तो ।

केही त गर्नै पर्ने भयो । मनमा कुरा खेल्यो । लोक–दोहोरी प्रतिष्ठानका अध्यक्ष थिए । उनले सोचे, एउटा कल्याणकारी कोष खडा गर्नुपर्यो । जसबाट गाह्रो साह्रोमा परेका कलाकार र उसको परिवारलाई सहयोग गर्न सकियोस् । प्रतिष्ठानका साथीहरूसँग छलफल गरे । सबैले प्रस्ताव राम्रो रहेको बताए । तत्कालीन पाँचवटै विकास क्षेत्र कार्यक्रम गरेर पैसा संकलन गरे । ‘अभियानै चलाएर देशभर कार्यक्रम गरेर १२ लाख रुपैयाँमा कोष खडा भयो । ०६१ सालबाट सुरु गरेको अभियानले ०६४ मा सार्थकता पायो,’ ‘दुर्गा सुनाउँछन्, ‘अहिले हाम्रो कोषमा एक करोड सात लाख रुपैयाँ छ ।’

अभियान पवित्र थियो । साह्रोगाह्रोमा परेका कलाकारलाई सहयोग गर्ने थियो । तर त्यो समय कठिन थियो । सरकार–माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । त्यही विषम् परिस्थितिमा देशभर कार्यक्रम गर्नु थियो । दुर्गाले सम्झिए धनगढीको कार्यक्रम । कार्यक्रम कभर्डहल छेउको मैदानमा भएको थियो । कार्यक्रम सकिएको २० मिनेटमा कार्यक्रम भएको छेउमै रहेको वडा कार्यालयमा बम विस्फोट भयो । केहीछिनमै सरकार र माओवादीबीच दोहोरो फायरिङ भयो । सुकिलो उद्देश्य लिएर धनगढी पुगेका उनी तीतो अनुभव लिएर काठमाडौं फर्किए ।

यो कोषले अग्रज स्रष्टालाई सहयोग, दिवंगत स्रष्टाका बालबच्चाको अध्ययनमा सहयोग, कलाकारको मृत्यु हुँदा परिवारलाई सहयोग र लोकगीत–संगीतको उत्थानका लागि हुने कार्यक्रममा यो कोषबाट सहयोग हुँदै आएको सुनाउँदा दुर्गाको चेहरा उज्यालो देखियो । अहिले कल्याणकारी कोषबाट कोभिड–१९ आकस्मिक सहयोग कोष खडा गरेर कोरोनाका कारण अफ्ठ्यारोमा परेका कलाकारलाई सहयोग गरिरहेको दुर्गा सुनाउँछन् ।

पाल्पाको झँडेवा गीत–संगीतका लागि यसै पनि मलिलो ठाउँ, त्यसमा पनि घर पनि त्यस्तै । थाहा नपाउँदै सायद दुर्गामा पनि गीत–संगीतको चस्का पसिसकेको थियो । घरमै जेठो ठूलोबुवा कुशल बाँसुरीबादक थिए । भलै उनले देख्न नपाउँदै उनको स्वर्गारोहण भइसकेको थियो । अक्सर गाउँघरमा मादल त हुन्थ्यो । तर उनको घरमा तबला नै थियो । मादल मात्रै होइन बुवा नै तबला पनि गाउँथे । घरगाउँमा मेला, पर्व तथा विद्यालयमा हुने कार्यक्रममा दुर्गाको दिलचस्पी बढ्दै गयो । सहभागी हुँदै गए । ४ वर्षको उमेरमा नाचेको उनलाई रिमरिम याद छ । अलिपछि उनी मादल बजाउन थालेका थिए । मादलको तालका लागि उनको ख्याति गाउँमै छँदा फैलिइसकेको थियो । घर गाउँ मात्रै होइन छिमेकी गाउँबाट पनि उनलाई मादल बजाउने निम्तो आउँथ्यो । जान्थे । प्रवीणता प्रमाणपत्र तह पढ्दा उनीहरूले सांस्कृतिक समूह नै खडा गरे । त्यसले कलेज तथा बाहिर सांस्कृतिक कार्यक्रम देखाउँथ्यो ।

०४५ सालमा दुर्गा काठमाडौं छिरे । कानुनमा भर्ना भए । कानुनमा करिअर बनाउने रहर थियो । कालो कोट लगाएर अदालतमा बहस गर्ने चाह थियो । दुर्गा भीमार्जुन आचार्यका सहपाठी हुन् । ‘भीमार्जुन चाबहिलमा बस्नुहुन्थ्यो । उहाँलाई मैले नै कोठा खोजेर बबरमहल ल्याएँ र सँगै बस्न थाल्यौं,’ दुर्गा नोस्टाल्जिक हुन्छन्, “सँगै एउटा ल फर्म चलाउने तयारी गरेका थियौं । इङ्लिस ल्याङ्ग्वेजको इन्स्टिच्युट खोलेका थियौं ।” पछि उहाँ संविधानविद् हुनुभयो । तर मैले पढेँ मात्रै कानुनको अभ्यास गर्नै पाइनँ ।’

संगतले दुर्गा पढाइसँगै गाउन र बजाउन थालेका थिए । नारायण रायमाझी दुर्गाकै सहोदर दाइ हुन् । उनको प्रभाव पनि पर्यो । केही समय त उनले व्यावसायिक रूपमै मादल बजाए । ०५० सालमा पहिलोपटक एल्बम निकालेर गीत गाउने रहर पनि पूरा गरे । ‘मारी फाँटैमा’ एल्बमको नाम राखेका थिए । ‘तुलसीपुर बसैमा।।।’ गीतले राम्रै चर्चा पाएको थियो ।

गाउँको ठिटो काठमाडौंको बसाइ र पढाइ । काम गर्नै पथ्र्यो । ०५१ मा रेडियो नेपाल पुगे । तर वाद्यवादकका रूपमा होइन । समाचार वाचकका रूपमा । ‘रेडियो नेपालको मगर भाषाको पहिलो समाचार वाचक मैं हुँ,’ दुर्गा सुनाउँछन् । मगर जातिको बसोबास रहेको क्षेत्रमा बसेकाले उनलाई मगर भाषाको राम्रो ज्ञान थियो । त्यसैले रेडियोमा उनलाई मौका मिलेको थियो ।

वकिल बन्ने तीव्र चाह थियो । त्यसैले दुर्गा गीत–संगीतप्रति अगाध लगाव हुँदाहुँदै पनि गीत–संगीतको एकेडेमिक अध्ययनका लागि विश्वविद्यालय भर्ना भएनन् । ०५४ सालमा रेडियो नेपालले उनलाई पोखरा क्षेत्रीय प्रसारण कार्यालय कास्की सरुवा गरिदियो । जानै पर्यो । तर एकाध वर्ष बसेर काठमाडौं नै फर्किन्छु र कालो कोट लगाउँछु भन्ने संकल्प थियो । तर, सोचेजस्तो सधैं कहाँ हुन्छ र रु दुर्गाको अनुभवले भन्छ, हुँदो रहेनछ । उनले आफ्नै अनुभव सुनाए– ‘पोखरा पुगियो । गण्डकी प्रदेश साहित्य र संगीतका लागि उर्वर भूमि । संगीतप्रेमी साथीभाइहरू भेटिए । संगीतकै कुरा, संगीतकै कर्म । गीत बाक्लै रूपमा लेख्नरगाउन थालेँ । स्टुडियो खोलियो फेवा म्युजिक प्रालि । व्यवसायको क्षेत्र पनि यही भयो । व्यवसाय पनि राम्रो भयो । हाम्रो स्टुडियोमा गाएका कति गीत पनि चले । त्यसले गण्डकीमै स्थापित गरायो । पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली र म कार्यक्रम होस् अथवा अन्य कार्यक्रम हाम्रो राम्रो उपस्थिति हुन्थ्यो । लोक–संगीतका लागि काठमाडौं पछि दोस्रो हबका रूपमा पोखरा थियो ।’

लोकदोहोरी क्षेत्रमा संस्थागत विकासको टड्कारो खाँचो थियो । यो महसुस गरेका दुर्गासहित स्रस्टाहरू एकाकार भए र स्थापना गरे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल । दुर्गा संस्थापक उपाध्यक्ष भए । प्रतिष्ठानलाई उचाइ दिनु थियो । त्यसका लागि खट्नु थियो । तर बाधक थियो रेडियो नेपालको जागिर । बाधक बनेको समाचार वाचकको जागिर उनले नौ वर्षपछि ०६१ मा छाडिदिए । काठमाडौं आए र केन्द्रित भए प्रतिष्ठानको काममा । मनभरि बुनेको कालो कोट लगाउने सपनाको घर पोखरा बसाइले ढलाइदियो । साथीहरूले सपना भेटाए । तर दुर्गा नदेखेको बाटो हिँडे भलै मनले खाएकै क्षेत्र किन नहोस् । थाहा छैन उनलाई आफू सफल वा असफल । तर उनलाई सहपाठीहरू भन्छन्– समाजमा हाम्रोभन्दा तेरो नाम ठूलो छ । हाम्रो समाजले तलाईं भोलि पनि सम्झिनेछ । त्यसैले बाटो बदलिए पनि उनलाई बिराएँ भन्नेचाहिँ लागेको छैन ।

देशमा सरकार र माओवादी आन्दोलन थियो । एकले अर्कोलाई बन्दुकले नै दबाउने उद्देश्यले सरकारले पनि सेना परिचालन गरेको थियो । दुवै पक्ष आ–आफ्नो दम्भको प्रदर्शन गरिरहेका थिए । त्यसको मारमा परिरहेका थिए निहत्था जनता । सरकार र माओवादीको आशंकामा निरिह जनता पीडित भइरहेका थिए । एउटै व्यक्तिलाई सेनाले माओवादी हो कि भन्ने शंका गर्ने, त्यसैलाई अर्कोले सेना वा सुराकी हो कि भन्ने शंकाको नजरले हेर्ने । त्यही विषयलाई दुर्गाले गीतमा उने, ‘बिना बादल असिना पानी, आजकाल गाउँमा यस्तै छ सान्नानी।।।।’ गीत लोकप्रिय भयो ।

दुर्गा कोरा कल्पनाभन्दा पनि माटोको गीत लेख्छन् । माटोका कथा व्यथा गीतमा समेट्छन् । ‘फर्क दाइ फर्क।।।’ यसकै एउटा उदाहरण हो । रोजगारीका लागि जापान, जर्मन जहाँ पुगे पनि माटोको सुगन्ध भुल्न नसक्ने नेपाली मनहरूको कथा समेटिएको यो गीत उनले गाए ।

‘लोकगीतमा कला, साहित्य र संस्कृति बोल्नुपर्छ अन्यथा त्यो लोकगीत हुँदैन,’ दुर्गा भन्छन्, ‘त्यसैले गाउँकै शब्द र भाखा समेटिएको मात्रै लोकगीत हुन्छ ।’

लोकगीत गाउँठाउँबाटै जन्मिने भन्दै उनी त्यस्ता गीत खोज्न गाउँ नै जानुपर्ने बताउँछन् । त्यसैले त उनी गीत खोज्दै गाउँ पुग्छन् । छायांकनका लागि गाउँका गरागरा पुग्छन् । चाहे ‘बयर घारी।।।’ होस् अथवा असारे गीत ‘हलो र कोदाली।।।’ होस् उनी ठेट शब्दको प्रयोग गर्छन् । र त्यसमै रमाउँछन् । ‘लोक गायकले गाउँदैमा लोकगीत हुँदैन । लोकले गाउँदै आएको एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको गीत नै लोकगीत हो,’ दुर्गा भन्छन्, ‘लय टेक्दैमा लोकगीत हुँदैन । कोठामा बसेर लय र सिर्जना गरेर लोकगायकले गाउँदैमा लोकगीत हुँदैन । यसलाई वर्गीकृत गर्ने बेला आएको छ । सिर्जित लोकगीत र संकलित लोकगीत भनेर वर्गीकृत गर्नुपर्छ ।’

२७ वर्षको अवधिमा दुर्गाले पाँच दर्जन गीत गाए । गीत गाउनभन्दा पनि प्रतिष्ठानमार्फत समाज सेवामा अझ बढी केन्द्रित भए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पनि केही वर्ष काम गरेका उनलाई नेपाली लोकगीत–संगीतको खोज गर्ने रहर छ । मगर र थारू समुदायको लोक संस्कृतिको रिसर्च गरेका उनलाई गाउँगाउँ पुगेर लोप हुन लागेका लोकगीत र भाखा बचाउने मन छ । ‘पुरानो पुस्तासँगै लोकगीत पनि मरेर जान्छ । त्यसैले लोप हुन लागेका गीत बचाउनु आवश्यकता पनि हो । हाम्रो पहिचान नै मासियो भने हामी भोलि के भनेर आफूलाई चिनौंला,’ दुर्गा भन्छन्, ‘लोप हुन लागेका गीत पहिलो संकलन गरिएका व्यक्तिबाटै गाउन लगाउने र त्यसपछि काठमाडौं ल्याएर व्यावसायिक कलाकारबाट गाउन लगाउन सकियो भने यो पनि कला संस्कृतिका लागि ठूलो उपलब्धि हुनेछ ।’ यसका लागि उनले स्थानीय तहको सहयोगको अपेक्षा गरेका छन् ।       -साभार : बाह्रखरी डटकम


प्रकाशित मिति: आइतवार, श्रावण ११, २०७७, ०३:१०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रोमाण्टिक कवि सुवालको ‘पलपल’ आइतवार, श्रावण ११, २०७७, ०३:१०:००
गोरू (लघुकथा) आइतवार, श्रावण ११, २०७७, ०३:१०:००