Shittalpati
होमस्टे प्रवद्र्धनमा निजी क्षेत्र :  महोत्सवमा आउने अतिथिलाई होमस्टेबाटै सत्कार

गुल्मी संवाददाता
गुल्मी, सरकार २०२० भित्र २० लाख पर्यटक भित्र्याउने उद्देश्य अनुरुप अगाडि बढिरहेका बेला केही निजी संघसंस्थाहरुले स्थानीय होमस्टे प्रवद्र्धन गर्दै पर्यटन वर्षलाई टेवा पुर्‍याउने काममा लागेका छन् । जिल्लाको मुसिकोट उद्योग वाणिज्य संघले महोत्सवमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण क्षेत्रमा रहेका होमस्टेमै रम्मने रमाउने व्यवस्था गरेको छ । संघले यही माघ १५ गतेदेखि १६ गतेसम्म सञ्चलान गर्न लागेको महोत्सवमा अतिथिका लागि आवास, खाना र अन्य सेवा प्रदान गर्ने गरी होमस्टेको व्यस्था गर्न लागेको हो ।

पर्यटन विकासका लागि चालिएका विभिन्न कदमहरुमध्ये होमस्टेको विकास पनि एक महत्वपूर्ण पक्ष रहेकाले उद्योगी तथा व्यापारीहरुको छाता संगठन मुसिकोट उद्योग वाणिज्य संघले महोत्सवबाटै स्थानीय स्तरमा रहेका होमस्टेको प्रवद्र्धनका लागि सकरात्मक कदम चालेको छ । संघले मुसिकोट नगरपालिका ७ वामीटक्सारमा हुन लागेको प्रथम गुल्मी पर्यटन, साँस्कृतिक औद्योगिक एवं व्यापार महोत्सवको अवसरमा अतिथिहरुलाई होमस्टेबाट सत्कार गर्ने व्यवस्था मिलाईएको छ । नगरपालिकाभित्र रहेका ३ वटा होमस्टेमा बस्ने व्यवस्था मिलाईएको सघंका अध्यक्ष सुदर्शन शाक्यले बताए । पर्यटन वर्षलाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा स्थानीय कला–संस्कृति प्रदर्शन गर्ने, अतिथि सत्कार र मौलिक उत्पादनको प्रवद्र्धन गर्नका लागि पनि होमस्टे उत्कृष्ट हुने उनले बताए ।

महोत्सवले ती क्षेत्रको प्रचार–प्रसारमा मद्दत पुग्ने र पर्यटन आवागमनमा वृद्धि हुने विश्वास गरिएको अध्यक्ष शाक्यले बताए । मुसिकोट नगरपालिका ६ मा रहेको कुर्घाको स्वाँरा होमस्टे, ७ मा रहेको मालारानी होमस्टे र वडा नं ४ मा रहेको दजाकोट होमस्टेमा आर्गनिक खानेकुरा, संस्कृति तथा रहनसहनका बारेमा जानकारी गराई पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले होमस्टेलाई अतिथि सत्कारको प्रमुख प्राथमिकताका रुपमा राखिएको महोत्सव प्रचार–प्रसार एवं सूचना संयोजक ज्ञानहरी सापकोटाले बताए ।

स्वाँरा होमस्टेमा गुरुङ्गहरुको खानाका परिकार, उनीहरुको रहनसहन र संस्कृतिले अतिथिहरुलाई स्वागत गरिने छ । त्यस्तै दजाकोट होमस्टेमा स्थानीय मगर जातिका संस्कृति, झाँकी, कोदोको विभिन्न परिकारसगैं मालारानी होमस्टेमा स्थानीय पूराना भेषभूषा, खाना, नास्ता र विभिन्न ठाउँको मनोरम दृश्यावलोकन गर्न सकिने संघले जनाएको छ । महोत्सवमा विभिन्न ठाउँबाट आउने अतिथि कलाकारहरुलाई उनीहरुले चाहेको खण्डमा होमस्टेसम्म पुग्नका लागि यातायात र न्यूनतम शुल्कमा आवाससँगै स्थानीय खानाका परिकारहरु उपलब्ध गराउने सघंका कोषाध्यक्ष गोपिकृष्ण खरेलले जानकारी दिए । स्थानीय होमस्टेलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गराउँदै पाहुनालाई सत्कार, सदभावको महशुस गराउने उद्देश्यले महोत्सवमा यस्तो व्यवस्था गरिएको खरेलले बताए ।

होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र स्थानीय सोरठी, भैलो, सरायँ नाँच नाचेर साँस्कृतिक मनोरञ्ज प्रदान गरिनेछ । पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी, मकै, भटमास, मुलाको अचार लगायतका परिकारहरु रहने बताईएको छ । पाहुनको माग अनुसार खानाको व्यवस्थापन गरिने छ । बेलुकीको बासमा मगर जातिको हुर्रा नाँचबाट साँस्कृतिक मनोरञ्जन प्रदान गरिने छ । पर्यटकहरुले होटलमा खाने खानाभन्दा होमस्टेमा उपलब्ध हुने खानामा फरक स्वाद र बढी आत्मीयता पाउने भएका कारण पनि होमस्टेमा अतिथिहरुको आकर्षण रहने आयोजकहरुmले विश्वास लिएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update