Shittalpati
खै कता... (कविता)

लालकाजी शाक्य
पाल्पा, तानसेन

खै कता गयो सहयोगको अरबौँ रकम
मृगौला प्रत्यारोपण करोडौँ हजम
भूकम्प पीडितको नाममा लाखौँ कमाइयो
कोरोनाको नाममा अरबौँ रमाइयो... खै कता...

खोज्दैछु म बलात्कारीलाई
भेटाए सजाए दिने छु अरुलाई
हत्या हिंसा म पटक्कै सहन्न
त्यही नभई फेरी बाँच्नै सकिन्न...खै कता...

न्याय माग्नेलाई लाठी चार्ज गर्छु
अन्यायको साथ दिन्छु
भ्रष्टाचार मेरो अड्डा हो
कुर्सि मेरो प्यारो गद्दा हो...खै कता...

एउटा, दुईटा भए पो सम्झि रहने
यहाँ हजारौ घटना भइरहने
कसको पक्षमा बोल्नु, कसकोमा नबोल्नु
विपक्षले खुट्टा तान्छ, कसरी मु्ख खोलु...खै कता...

सोझो जनतालाई झुक्याई रहेँ
जनता बाठो भए छन् हिसाब पो मागीरहेँ
कहाँबाट देखाऊ हिसाब रकम जति भ्याईहाले
बुुझाउँला हिसाब भनी कसम खाईहाले

कमाई मेरो केही थिएन भुकम्पले साथ दियो
त्यसमा केही थपथाप कोरोनाले राहत दियो
अबको वर्षामा अझै कति थप्ने खातामा
देशमा राखुँ अख्तियारले समात्छ कि
राख्छु विदेशी खातामा...खै कता...

जाबो ३७ क्विन्टल सुन गडबड हुँदा कत्रो हल्ला भो
झिना मसिना यस्ता कुरामा किन लिन्छौँ चासो
सक्छौँ भने आऊ, हात समाउ बाँडी चुँडी खाऊला
पछि जे हुन्छ–हुन्छ पकरी आए देखा जाएला

पीपीआर, पीपीई, भिटिएम, पीसिआर मेशिन
किन्न खोज्दा कम भयो कमिशन
त्यही किन्न अरबौँ रकम भ्याईने
कुर्सीमा बस्नेले के कसरी खाने

कोरोनाको नाममा ए.डि.बीसँग ऋण लिने
अरबौँँ विदेशी सहयोग गुपचुप खाने
अब आउने चुनावमा जितिन्छ, हारिन्छ
बेलैमा आएको रकम मज्जाले पचाइन्छ

कोरोनाको नाममा देश ठप्प छ
जनता झुक्याउने खेल गजव छ
उल्टै कर तिर नत्र जरिवाना तिर्नु पर्ला
पैसा नभए सरसापट गरी तिरौला...खै कता...

कस्ता बुद्धि मन्त्रिको सुन्दैमा कनसरी तात्छ
जनता कसरी बाँचेको छ देख्दैन कु जात छ
जनता घरैमा कैदी बनाई राख्न खोज्दै छ
मन्त्री कमिशनको खोजीमा दौडिदैँछ ...खै कता...

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update