कला/संस्कृति/मनोरन्जन

एसएलसीको कथा

Shittalpati

उत्सव बस्याल
साँझको ९ बजिसकेको थियो । मैले टिभी हेरिरहेको थिएँ । मन्त्रीपरिषदको बैठक बस्दै थियो र दुइ महिनाको लकडाउनको विषयमा केहि निर्णय होला भन्ने आशावादी थिएँ । यत्तिकैमा गाँउबाट भाइले फोन गर्‍यो । फोन उठाउने बित्तिकै उसले हतार–हतार भन्यो, ‘दाइ मन्त्रीपरिषदको बैठक बस्दैछ गरेनि ! ‘मैले अँ किन र ?’ भनेँ । उसले ‘एसइईको पनि निर्णय गर्छ होला नि !, खबर गर्नुस् है’ भनेर फोन राख्यो ।

भाइ घोषित मितिको एक दिन अघि परीक्षा स्थगीत भएपछि अलि बेचयन भएको थियो । ‘न त ढुक्क भएर सुत्छन् त यती गते परीक्षा भनेर कस्सिएर पढ्न । यो लकडाउनले हामी एसइई दिनेलाई त साह्रै आपत पार्‍यो ।‘ भन्दै गुनासो गरिरहन्थ्यो । तेरा भैरमभन्दा मेरा भैरम ठूला भनेझैँ भर्खर दश कक्षा पढ्दै गरेको भाइलाई कोरोनाका कारण उत्पन्न विश्व महामारी, धरासाई हुँदै गइरहेको अर्थतन्त्र, भोकमरी लगायतका समस्याभन्दा आफ्नै एसइई ठूलो लाग्नु स्वभाभिक थियो । केही बेरमा बैठक सकियो । लकडाउन सहज पार्ने निर्णयभन्दा पनि एसइई स्थगीत गर्ने निर्णयले सामाजिक सञ्जाल र अनलाईनपत्र पत्रिका भरिए । कोरोना महामारीका कारणले यो वर्ष परीक्षा स्थगीत भएछ । मैले भाइलाई फोन गर्न भन्दा पहिलेनै उसले मलाई फोन ग¥यो । उत्साह र उर्जाले भरिएको उसको आवाज यसपाली अलि चर्को र छिटो थियो । ‘दाइ परीक्षा स्थगीत भयो गरेनि हो र ?’ उसले भन्यो ‘अँहो, ल बधाइ छ ! अब सुत्न पाउने भइस आनन्दले’ मैले अलि जिस्क्याए जसरी भने । ‘यास ! अब ढुक्क भो’ भनेर उसले फोन राख्यो । अचम्मको खुशी र सन्तुष्टी थियो उसको आवाजमा । सायद मेरो आवज पनि यस्तै थियो होला नौ वर्ष अघि मैले एसएलसी परीक्षा सिध्याएको दिन । विस्तारामा कोल्टे परेर आफ्नै एसएलसीका दिन सम्झिन थालेछु । मिति २०६९ जेष्ठ ३१ गते, बुधबार पछिल्ला केहि दिनदेखि मलाई राति खासै निद लागेको थिएन । चैत महिनामा दिएको एसएलसीको नतिजा प्रकाशन आज कि भोलि भन्ने हल्ला देशैभरी फैलिएको थियो । कयौ पटक नतिजा प्रकाशन भइसक्यो रे भन्ने अफ्वाहले म र मेरा साथीको होस उडाइसकेको थियो । बृज कोर्श पढ्न काठ्माडौँ आएको म पछिल्ला केहि दिनदेखि आज नतिजा प्रकाशन हुन्छ होला भनेर दिनभर नतिजा कुरेर कम्प्युटर अगाडि बस्ने गरेको थिएँ तर हरेक रात नतिजा प्रकाशनको हल्ला हामीसँगै निदाउँथ्यो र विहान हामीसँगै उठ्थ्यो । तर आज बुधबारको दिन नतिजा प्रकाशन हुन्छ भनेर हिजो परीक्षा बोर्डले नै भनेको थियो । आजपनि बिहान पाँच बजेनै मेरो निद्रा खुल्यो । पहिले पहिले त परीक्षा बोर्डले आधा रातमै नतिजा सार्वजनिक गथ्यौ रे, आज पनि राति नै प्रकाशन भयो कि भनेर उठ्ने बित्तिकै मुख पनि नधोइ कम्प्युटर खोलेँ तर अनलाईन पत्रपत्रिका हिजोकै बासी समाचारले भरिएका थिए । मलाई राम्रोसँग थाहा थियो नतिजा प्रकाशन गर्नु अगाडि परीक्षा बोर्डको बैठक बस्छ र देशभरिका सञ्चार माध्यमलाई अगाडि राखेर नतिजा प्रकाशनको घोषणा गरिन्छ । अनि बल्ल विद्यार्थीका हात–हातमा नतिजा आउँछ भनेर । तरपनि केहि नौलो पो भैहाल्छ कि, यो वर्ष सुटुक्क नतिजा प्रकाशन हुन्छकी जस्तो लागिरहेको हुन्थ्यो । मन डराएको बेला त प्रकृया र प्रणाली माथि विश्वास पनि नलाग्ने रहेछ ।

एसएलसी परीक्षा सकेको ताका त मनमा अर्कै स्थीरता, खुशी र सन्तुष्टी थियो । तर यो हप्ता नतिजा प्रकाशन हुन्छ रे भन्ने हल्ला चल्न थालेपछि ति सबै हराए । के हुने हो ? कसो हुने हो ?, कति अंक आउँछ होला ? जस्ता कुरा मनमा खेलिरहन्थे । बेला–बेला मन झास्किरहन्थ्यो । विद्यालयमा साथीभाइका बिच कुरा हुन्थ्यो ‘एसएलसीको नम्बर त परीक्षकको मुडमा भर पर्छरे ¤ आफुले लेखेका कुरा उसलाई मन परेन भने जती राम्रो लेखेनी नम्बर दिँदैन रे ¤’ अब फेरी मनमा यस्तै कुरा आउन थाले । साँच्चै मैले लेखेको कुरा परीक्षकलाई मन प¥यो होला किनाइ ? अलि आलोचनात्मक शैलीको मरो उत्तरसँग रिसाएर सामाजिकमा उल्टै अंक पो काटियो कि ? कापी जाँच्दा राम्रै अंक आएपनि कूल टोटल गर्दा बिगारिदिन्छन्, कि, अझ कम्प्युटरमा टाइप गर्ने बेला टाइपिस्टले गलत टाइप पो गरिदिन्छ कि, हे भागवान यस्ता कारणले मेरो नतिजा नबिग्रियोस् । यस्तै कुरा मनमा खेलिरहेका थिए । बिहानको दश बजिसक्यो । निद्रा हराएको त हप्तादिन भैसकेको थियो । आज त भोक पनि लागेको छैन । अब त बैठक सुरु हुन्छ होला भनेर पलपलको खबर हेरिरहे तर बैठक बस्ने केहि सुरसार थिएन । दिउँसो बाह्र बजेतिर बल्ल ुपरीक्षा बोर्डको बैठक बस्दैछ‘ भन्ने खबर आयो । त्यसपछि मनझन आत्तियो । हातखुट्टा आफै हल्लिन थाले । साथीलाई फोन गर्न मोबाइल समाते तर मन डरले भारी भइसकेको थियो । लामो सुस्केरा हाल्दै भयो भो भन्ने मनसायले मोवाइल फेरि टेबलमै राखेँ ।

नतिजाको लागि ढाई महिना कुरिसकेको थिएँ तर अब ढाई घण्टा कुर्न साह्रै गाह्रो हुँदै थियो । हे भागवान सके सोँचेको भन्दा राम्रो अंक आउने भए लेखेको जतीत आउस्, केहि प्राविधिक गडबडी नहोस् भन्दै आफुले मान्ने देवी देउता र कुलायन भाकिरहेको थिएँ । मनमा अनेकन कुरा खेलिरहेका थिए । भागवान सम्झदा सम्झदैँ आफुले अहिले सम्म गरेका पाप र धर्म पनि सम्झिन थालेँ । नर्सरी कक्षामा कलम चोरेको, बुवाको गोजीबाट पैसा चोरेको, साथीको झोलाले फोहोरो बेन्च पुछेको सबै एक÷एक गरी सम्झिन थालेँ । अँसाँच्चै एक पटक बाटोमा भुक्दै गरेको कुकुरलाई हानेको र गुलेली लिएर चरा मारेको पनि सम्झिँए ला ¤ अब यसैको पाप त लाग्ने होइन । फेरि आफुँले आफैँलाई पापी होइन म भनेर चित्त बुझाउन आफुले गरेका धर्म सम्झिन थाँले । भोको कुकुर र बिरालोलाई दूध र रोटी खुवाएको, माग्ने र गाइने दाइलाई पैसा दिएको, बाटोमा भेटेको पैसा फिर्ता गरेको सम्झिए । मन यती डराएको थियोकि आफुले गरेका पाप र धर्म आँखा अगाडि चलचित्रका दृश्यझैँ आउन थालेका थिए । केहिबेरमा नतिजा प्रकाशनको घोषणा भयो । ५,२८,२५७ विद्यार्थीमध्य ४७.१६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको खबरले देश तरंगित भयो । नतिजा घोषणा भएको एक घण्टासम्म पनि आफ्नो नतिजाको केहि अत्तोपत्तो थिएन । उता फोन बजिरहेको थियो । घर परिवार र आफन्तले फलनाको त यती आएछ तेरो कति आयो भनेर सात्तो काड्न थाले । केहि बेरमा आफ्नो नतिजा पनि हेँरे । सोँचे जती त आएको थिएन तर पिर मानेर बस्नुपर्ने पनि थिएन । एक हिसाबले म सन्तुष्ट नै थिएँ तर कता–कता मेरो अंक किन अलिकति थोरै आयो होला भन्ने लागिरहेको थियो । कक्षामा सरले मलाई भनिरहनुहुन्थ्यो ‘तेरो यस्ता नराम्रा अक्षरले गर्दा एसएलसीमा तैँले सोँचेको भन्दा कम अंक आउन सक्छ है, अक्षर सुधार ।’ मैले त्यही सम्झिएँर मेरा अक्षरले गर्दा अलिकम अंक आयो होला भनेर चित्त बुझाए ।

ढाइ महिनादेखिको सस्पेन्स र थ्रीलरको अन्त्य थियो त्यो दिन । दश वर्षदेखिको लगानी र मिहिनेतको क्लाईमेक्स थियो त्यो दिन । त्यसपछि पनि कयौँ परीक्षा दिएँ, अझ ति परीक्षा एसएलसी भन्दा महत्वपूर्ण थिए तर एसएलसी जस्तो सस्पेन्स र थ्रीलरको महशुस कहिल्यै भएन । त्यस रात कयौँ दिनपछि ढुक्क भएर निदाएको थिएँ म । आज कयौँ वर्षपछि मैले महशुस गरे खासमा त्यो बेला मैले महशुस गरेको भावना ‘थ्रीलर र सस्पेन्स’ थिएन, त्यो त हाम्रो समाज, नेपालको शिक्षा र परीक्षा प्रणालीले दिएको मानसिक तनाब थियो । कयौँ विद्यार्थीले त्यो तनाबबाट आफुलाई पार लगाए तर कतिपय विद्यार्थीले त्यो मानसिक तनाब झेल्न सक्दैन थिए र विक्षिप्त भएर आत्महत्या सम्म गर्थे । हरेक वर्ष एसएलसीको नतिजा आएपछि कयौँ विद्यार्थीले आत्महत्या गर्नु सामान्य जस्तै भएको थियो ।

२०७४ सालमा सरकारले प्रतिशत प्रणालीमा क्षमता मापन गर्ने एसएलसी हटाएर ग्रेड प्रणालीमा क्षमता मापन गर्ने एसइई प्रणाली ल्यायो । यो नेपालको परम्परागत शिक्षा प्रणाली हटाएर आधुनिक शिक्षा प्रणाली स्थापनाको पहिलो चरण थियो । तर यो प्रणालीलाई आत्मसाथ गरेपछि विद्यार्थीमा पर्ने अनावश्य कर अस्वस्थ मानसिक तनाब भने केही कम भएको महशुस हुन थालेको छ । कुनै बेला विद्यार्थी, अभिभावक र शिक्षकको सात्तो काड्ने ‘फलामे ढोका’ भनेर चिनिने एसएलसी परीक्षा एसइईमा परिणत भएपछि दाह्रा निकालिदिएको बाघ जस्तै भएको छ । यसपाली त झन्, त्यो पनि हुने भएन । यसले मनमा प्रतिस्प्रधाको भावना राख्ने र परीक्षामा राम्रो गर्न सक्थेँ भन्ने विद्यार्थीलाई केहि खल्लो बनाएको छ तर वर्षभरी मरिमेटी पढेर तीन घण्टाको परीक्षा पश्च्यात आउने ग्रेडको आधारमा समाजले गर्ने अस्वस्थ मूल्यांकनबाट सबै विद्यार्थी यो वर्षलाई मुक्त भएका छन् । यति गर्दा गर्दै पनि नेपालको शिक्षा प्रणाली दोषमुक्त भने छैन । जबसम्म विद्यालय शिक्षालाई बालबालिकाको चौतर्फी सिकाईभन्दा पनि एसइईको तीन घण्टे परीक्षाको तयारीको चस्माले हेरिन्छ तब सम्म विद्यार्थीमा मानसिक तनाब रहिरहने छ र ‘स्वयम् र स्वतन्त्र’ सिकाइको परिपाटी बसाल्न पनि गार्हो हुनेछ । एसइई परीक्षालाई हाउगुजी बनाएर यसरी प्रस्तुत गरिन्छ कि मानौँ त्यसपछि त जीवनमा कहिल्यै एसइई भन्दा ठूलो पहाड चढ्नै पर्दैन । कुनैबेला हामीलाई पनि जीवन नै एसएलसी हो जस्तो महशुस भएको थियो तर आज एसएलसीको सर्टिफिकेट दराजको एउटा कुनामा थन्किएका छ र ‘मैले दश कक्षा उत्तिर्ण गरेको हुँम् है’ भन्ने कुराको औपचारिक प्रमाणमा सीमित भएको छ । वास्तवमा तिमीले यत्रो वर्षसम्म पढेर कती अंक ल्याए उभन्दा पनि के–के सिके उ भन्ने कुराले महत्व राख्दोरहेछ तर अझै पनि विद्यार्थीले के सिके ?, के जाने ? भन्दापनि कुन ग्रेड ल्याएर पास भए भन्ने प्रश्नले नै हाम्रो समाजमा विशेष स्थान राख्छ । कहिलेकाँही ग्रेड प्रणालीले पनि विद्यार्थीको न्यायोचित मूल्यांकन गर्न सक्दैन । त्यसैले विद्यार्थीको सर्टिफिकेटमा आउने उपलब्धीमा भन्दापनि सिकाईमा आउने उपलब्धीमा जोड दिऔँ ।


प्रकाशित मिति: शनिवार, असार ६, २०७७, १२:२४:००
प्रतिक्रिया दिनुहोस्