Shittalpati
रहेनन् अभिनेता ऋषि कपूर

मुम्बई, बलिउडकाअभिनेता ऋषि कपूरको निधन भएको छ । ६७ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए ।

सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो । ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् । सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update