Shittalpati
स्वस्थानी व्रत कथाको समापन

पाल्पा,हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आइतबार पूजाआजा गरी समापन गरिएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले विधिवत पुजाआजा गरी व्रत समापन गरेका हुन् ।

स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि अन्त्य गरिएको छ । विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आइतबार १ सय ८ जनै, १ सय ८ सुपारी, १ सय ८ पान, १ सय ८ फूल, १ सय ८ रोटी, १सय ८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिएका थिए । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई, मीत छोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बगाउने गरिन्छ । सय रोटी वर्तालुले फलाहार गरी रातमा जागराम बस्दछन् । जागरामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवी स्वस्थानी हुन् । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा हुन्छ भनी व्रतकथामा उल्लेख छ यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग, व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update