Shittalpati
बगनासकालीले बाड्यो खाद्यान्न, राहत मिलेको भन्दै विपन्न परिवारमा खुसी

 रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले अति विपन्न परिवार र मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएकालाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले ९ वटै वडाका अति विपन्न परिवारलाई प्रति परिवार २० के.जी चामल, २ के.जी दाल, १ प्याकेट नुन र १ लिटर तेल उपलब्ध गराएको हो । लकडाउनका कारण लामो समय काम गर्न नपाउँदा विपन्न परिवार भोकै बस्नुपर्ने अवस्था आएकाले राहत स्वरुप खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए । गाउँपालिकाले ३ सय ८० जना व्यक्तिको पहिचान गरी दैनिक उपभोगका सामग्री दिइएको छ । ‘गाउँपालिकामा थुप्रै स्थानीय दैनिक ज्यालादारी गरेरै जिविका चलाउँनेहरु छ्, यीनै नागरिकलाई लक्षित गरी गाउँपालिकाले कसैलाई पनि भोकभोकै बस्न नपरोस् भन्दै राहत वितरण गरेका हौ’ अध्यक्ष बस्यालले भने । उनले भने ‘खानै नपाएर कुनै पनि नागरिकलाई मर्न दिँदैनौ’ जनताको सुरक्षा गर्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । हामी त्यसैअनुसार काम गरिरहेका छौँ ।’बाँकीछुटेका घरपरिवालाई शुक्रबार पनि वितरण गरिने अध्यक्ष बस्यालले बताए ।

गाउँपालिकाले दैविक विपत् कोषमार्फत वडाका सबै विपन्न र मजदुरहरुलाई खाद्यान्न वितरण गरेपछि स्थानीय खुसीभएका छन् । गाउँपालिका ९ चापपानीकी मन कुमारी विकको काँधमा आफूसहित ५ जनाको परिवार पाल्ने एक्लो अभिभारा छ । २ छोरा र २ छोरी उनकै भरोसामा बाँचेका छन् । एक वर्षअघि श्रीमानको उपचार गर्दागर्दै मृत्यु भयो । ३९ वर्षीय विकलाई श्रीमानको मृत्युपछि झनै सकस पर्दै गयो । अरुको काम नगरी चुल्हो बल्दैन् । कोरोनको त्रासले देश ठप्प भएपछि अहिले उनी काम विहिन बनेकी छन् । काम नभएपछि साँझा विहान छाक टार्न धौं धौं भएका बेला गाउँपालिकाले राहत स्वरुप खाद्यान्न सहयोग गरे पछि भने उनमा खुसी छाएको छ । साहारा दिने कोही नभएका बेला गाउँपालिकाले खाद्यान्न दिएपछि भने आफुलाई केही राहत महसुस भएको विक बताउँछिन् । दैनिक मजदुरी गरेर जीवन गुजारिरहेका अर्को मजदुर भुपाल विकको पनि गाउँपालिकाले खाद्यान्न सहयोग गरेपछि अनुहारमा खुसी छाएको छ । दैनिक अरुको ज्यालादारी काम गरेर पाँच जनाको परिवार धान्दै आएका विकलाई काम नपाएपछि साँझ विहानको जोहो गर्न समस्या परेका बेला गाउँपालिकाले दैनिक उपभोग्य वस्तु दिएपछि आफुमा स्थानीय सरकार रहेको अनुभूति भएको बताए । वडा नं ८ की छोलिश्वर विकले पनि गाउँपालिकाले दिएको चामल, नुनतेलले राहत मिलेको बताईन ।

गाउँपालिकाले वडा नंं १ चिर्तुङ्गधारामा ९९, वडा नंं २ पोखराथोकमा ४२, वडा नंं ३ नायरनमतलेसमा ३६ , वडा नंं ४ खानीछापमा २७, वडा नंं ५ दर्लामडाडामा २८, वडा नंं ६ यम्घामा ६८, वडा नंं ७ खानीगाउँमा ३४ .वडा नंं ८ बराङ्दीमा १४, वडा नंं ९ चापपानीमा ३२ घरपरिवार गरी ३ सय ८० परिवारलाई खाद्यान्न वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । वडाका जनप्रतिनिधिहरुको क्रियाशिलतामा टोकन प्रणालीमार्फत दुरी व्यवस्थापन गरी गाउँकै किराना पसलबाट खाद्यान्नको व्यवस्था गरी वितरण गरिएको वडा नं ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सेनाले बताए । यो पालिका स्तरमा राहत वितरण गर्ने जिल्लाको पहिलो गाउँपालिका हो ।

 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update