Shittalpati
बालमैत्री स्थानीय शासनका विषयमा अभिमूखीकरण

पाल्पा । बालमैत्री स्थानीय शासन गाउँपालिका घोषणाको तयारीमा रहेको जिल्लाको बगनासकाली गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमूखीकरण कार्यक्रम भएको छ ।

गाउँपालिकाले बालमैत्री विद्यालय घोषणा गरिसके लगत्तै अभिमूखीकरण कार्यक्रम सञ्चालन गरी वडा तहमा पनि तयारी थालेको हो । बालमैत्री स्थानीय शासन र बाल अधिकारका विषयमा एकदिने वडास्तरीय अभिमूखीकरण कार्यक्रम भएको छ । वडास्तरीय बाल सञ्जाल बगनासकाली–१ चिर्तुङ्गधाराको आयोजना र स्थानीय वडा समितिको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बगनासकाली गाउँपालिकालाई आगामी चैत्र मसान्त भित्रमा बालमैत्री गाउँपालिका घोषणाका लागि कार्यक्रमहरु अगाडि बढाइएको बताइन् । उनले अभिमूखीकरण कार्यक्रमले गाउँपालिका भित्र बाल क्लवमा आवद्ध बालबालिकालाई बालअधिकार, बालमैत्री शासनका सूचकहरू बारे जानकारीसँगै व्यक्तित्व र नेतृत्व विकास हुने भएकाले सिकेका विषय वस्तुलाई व्यवहारमा लागु गर्न बालबालिकाहरूलाई आग्रह गरिन् ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन मनोज आचार्यले बालमैत्री स्थानीय शासनको अवधारणा, बाल अधिकार र बाल संरक्षण, बाल सञ्जाल र बाल क्लवको बैठक बस्ने तरिका र बालमैत्री स्थानीय शासनमा बाल क्लवको महत्वका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  ०५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update