Shittalpati
तानसेन नगर सरकारद्वारा सरसफाईमा सक्रिय आठ टोलविकास संस्था सम्मानित

पाल्पा, माघ ७/ सरसफाईमा सक्रिय तानसेनका आठ टोलविकास संस्थाहरु सम्मानित भएका छन् । नगर भित्रको सरसफाईमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै तानसेन नगरपालिकाले नगर भित्रका आठ वटा टोलविकास संस्थाहरुलाई एक कार्यक्रमका बीच नगद सहित सम्मान गरेको हो । नगरको सरसफाईमा क्रियाशिल बसपार्क टोलविकास संस्था, मेहल्धारा टोलविकास सस्ंथा,कैलाशनगर टोलविकास संस्था, सिर्जनशिल टोलविकास संस्था,मिलिजुली टोलविकास संस्था, भिमसेन टोलविकास संस्था, भगवती टोलविकास संस्था र लालिगुराँस टोलविकास संस्था सम्मानित भएका हुन ।

सम्मानित टोल विकास संस्था मध्ये बसपार्क र मेहल्धार टोलविकास संस्था पहिलो हुन सफल भएका छन् । पहिलो हुने टोलविकास संस्थालाई दश/दश हजार र अन्य टोलविकास संस्थालाई पाँच/पाँच हजार हस्तान्तरण गरिएको छ । सम्मानित संस्थाहरुलाई नगर प्रमुख अशोक कुमार शाहीले सम्मान गरेका थिए । सम्मान गदै नगरप्रमुख शााहीले नगर सरकारले सञ्चालन गरेको स्वच्छ र हराभरा नगर बनाउने अभियानमा टोलविकास संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए । सरफाईमा सबै मिले मात्र नगर सफा राख्न सकिने भन्दै नगर प्रमुख शाहीले सरसफाईमा सबै एक जुट हुन आग्रह गरे ।

नगरको सरसफाईका लागि टोलविकास संस्थाहरु स्वतस्फूर्तः रुपमा लागेकाले उनीहरुलाई थप प्रोत्साहत गर्न नगद सहित सम्मान गरिएको नगरपालिका सरसफाई शाखाका प्रमुख शंकर भण्डारीले बताए । कार्यक्रममा तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जनले तानसेन आफैमा पर्यटकीय नगर भएकाले त्यसको विकासका लागि नगर सरसफाईमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

टोलविकास संस्थाको तर्फबाट भिम कुमारी शाक्यले आफ्नो क्षेत्रको सरसफाईमा टोलविकास संस्थाहरुले अगामी दिनहरुमा पनि नगर सरकारसँग सहकार्य गर्दै जाने धारणा व्यक्त गरिन् । कार्यक्रम फोहोर मैला व्यवस्थापन समितिका संयोजक विष्णु कार्कीको सभापतित्व, नगर उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत, सरसफाई शाखाका प्रमुख शंकर भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update