Shittalpati
तानसेनको खानेपानी महशुलमा ५० प्रतिशत छुट

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा खानेपानी महशुलमा ५० प्रतिशत छुट दिईने भएको छ । तानसेनमा खानेपानी वितरण गर्दै आएको तानसेन खानेपानी उपभोक्ता समितिले लकडाउनको कारण उपभोक्तालाई खानेपानी महशुलमा आधा रकम छुट दिने भएको हो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसले आम उपभोक्तालाई समेत प्रभावित पारेकाले संकटको समयमा चैतभरको खानेपानी महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको समितिका अध्यक्ष चकोरमान शाक्यले जानकारी दिए ।

सरकारले कोरोना भाईरसको सक्रमण, रोकथाम र नियन्त्रण गर्ने उद्देश्ये चैत ११ गतेदेखि जारी राखेको लकडाउनका कारण उपभोक्ताहरु मारमा परेको भन्दै समितिले राहत स्वरुप चैत महिनाको न्यूनतम् महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । समितिले फागुनदेखि चैत मसान्तसम्मको भुक्तानी गर्दा जरिवाना नलिने समेत जनाएको छ । तानसेनमा तीन हजार पाँच सय बढी उपभोक्ताहरु रहेका छन् । समितिले आफ्ना ग्राहकबाट मासिक १६ लाख बढी महशुल उठाउँदै आएको छ । कोरोनाको महामारीबाट जोगिनका लागि समितिले घर आँगन सफा राख्न, खानेपानी शुद्धीकरण गरेर प्रयोग गर्न उपभोक्तामा अपिल समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update