हराउँदै मौलिकता, भड्किलो बन्दै तीज

रामचन्द्र रायमाझी
पाल्पा, भदौ २४/

‘पारीपारी आएका छाते टोपी लाएका
भैया हाम्रा होलान् की लिन आएका…
वर्ष दिनको तीजमा दादा लिन आएका, पापिनी सासुले दिनन् बरिलै…
वर्ष दिनको तीजमा, बाबा लिन आएका
माइती घर जान्छु नि मत, सासु विदा देऊ न बरिलै…..’’
यसरी सासु–बुहारी, नन्दभाउजु, आमा–छोरीहरुका दुःख, सुखका विलौना र माइती घरको सम्झना चेलीबेटी जमघट भएर तीजमा गाईने यी भाका, लय हिजो आज गाउँघरमा सुन्नै मुस्किल भइसकेको छ । घरआगनको डिलमा बसी, गाउँभरिका महिलाहरु टुकी र दियालोको उज्यालोमा रातभर तीजका गीत मादलको तालमा गाउँदै नाँच्ने ती रमाइला पल एकाएक हराउँदै गएका छन् । पुराना मौलिक संस्कृतिहरु पुस्तान्तरण हुन नसक्दा पुराना लयका तीज गीतहरु हराउँदै गएका हुन् ।

पछिल्ला दिनहरुमा मानिस शहरीकरणतर्फ उन्मूख हुनु र विभिन्न समुदायका मानिसहरुको रहनसहन, बोलीभाषाका कारण समूहमा गाईने ती पुराना शैलीका तीज गीतका भाकाहरु बिर्सदै गएको साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुस्कर अथक रेग्मी बताउँछन् । उनी भन्छन् ‘मानिस शहरीकणर भएसँगै एक्लिदै जाने र विभिन्न नयाँ नयाँ प्रविधिहरुको प्रयोगबाटै तीजका गीतहरु आउने भएकाले तीजको मौलिकतामा कमी आएको छ । पछिल्लो समयमा मोवाईल, टेलिभिजनहरुमा आउने तीजका छाडा गीतहरुमा नाँच्न थालेका छन्, जसका कारण तीजको मौलिक संस्कृति हराउँदै जानुको साथै भड्किलो बन्दै गएको हो ।’ नेपाली समाजको विशेष गरी शहरी क्षेत्रमा केही वर्ष यता तीजको महिना दिन अगाडि नै दर खाने र रमाइलो गर्ने नाममा ठूलो रकम खर्चने गरेको पाइन्छ । विगतमा तीजको समयमा दुःख पीडा र बेदनाका गीतहरु गाईने गरिए पनि पछिल्लो समयमा तीज गीतमा छाडापनसँगै भड्किलो बन्दै गएको छ । पश्चिमी संस्कृतिको हामीहरुले अनुसरण गदैं जाँदा आफ्नो मौलिकपनलाई भुल्दै गएको संस्कृतिका जानकार निर्मल श्रेष्ठले बताए । अरुको देखासिखी गरेपनि आफ्नो मौलिक संस्कृति र शास्त्रीय विधिलाई संरक्षण गर्नुपर्ने र तीजलाई भड्किलो बनाउन नहुने संस्कृतिका जानकार श्रेष्ठ बताउँछन् ।

तीजलाई मिलन उत्सवका रुपमा मनाउन पछिल्लो पुस्तालाई श्रेष्ठले आग्रह गरे । हिन्दु परम्परा अनुसार शिवले पार्वतीलाई पति पाउँ भनि पानी समेत नखाई ब्रत बसेको र कठोर ब्रतलाई तोड्न शिवजी प्रकट भएको सन्दर्भमा हरेक वर्ष तीज मनाइदै आएको हो । हिजो आज तीजको अवसरमा दर खाने नाममा विकृति समेत फैलिएको छ । विभिन्न छाडापनका गीतको लयमा नाँच्नुको साथै दरका नाममा जाँड, रक्सी सेवन गरी हो–हल्ला गर्ने परिपार्टीले यतिबेला विकृति लिएको छ । यसरी नेपाली मौलिक संस्कृति माथि विकृति प्रहार भएको प्रति पुरानो पुस्ता चिन्तित बनेको छ । तीज भड्किलो भएकाले संस्कृति नै धरापमा पर्ने भन्दै पुरानो पुस्ताले दुःख मनाउ गरेका छन् । उनीहरु तीजको मौलिक संस्कृतिलाई बचाउन नयाँ पुस्ता लाग्नुपर्ने सुझाव दिन्छन् । तीज मनाउने नाममा महंगा महंगा गरहगना, लुगा, खानपिन गर्नाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई समस्यापर्ने संस्कृतिका जानकारहरु बताउँछन् । उनीहरु तीजको नाममा मोटो रकम खर्च गर्ने र गरगहना प्रदर्शन गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गरी एक आपसमा सुःख दुःख साट्ने पर्वको रुपमा अगाडि बढाउन सके तीजको महत्व बढ्दै जानेमा नयाँ पुस्तालाई सुझाव दिन्छन् ।

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *