सौन्दर्यको प्रतिक लालीगुँरास : संरक्षणको पर्खाइमा

रामबहादुर कार्की
चैत महिनामा नेपालका विशेष गरी मध्य र उच्च पहाडी क्षेत्रका वन, जंगलमा सुन्दर र मनमोहक दृष्य देख्न पाइन्छ । त्यो दृष्य हो राता, ढकमक्क फुलेका गुँरास, वन, जंगलमा देखिने लालीगुँरास फुलेका राताम्यै दृष्य एवं सुन्दरताले प्रकृतिको सौन्दर्यता बढाई वातावरण रमरणीय बनाउने भएकोले गुँरास वन क्षेत्र आजभोलि पर्यटकका आकर्षण एवं रोजाईमा पर्न गई नयाँ नयाँ पर्यटन गन्तव्य विकसित हँुदै गएका छन् ।

यतिवेला गुँरास सुन्दर फूल मात्र नभएर आर्थिक समृद्धि र पर्यावरण–पर्यटनको विकासका लागि आधारका रुपमा देखा परेको छ । यस्तो बहुगुणी विशेषता बोकेको गुँरास एसिया, उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया महादेशमा पाइने र एसियामा चाहीँ नेपाल, चीन, भारत, भुटान, म्यानमार, थाईल्याण्ड, भियतनाम, ईण्डोनेसिया, फिलिपिन्स आदि विभिन्न देशमा पाईने बताईएको छ । यसर्थ सौन्दर्यको प्रतिकको रुपमा रहेको लालीगुँरासको विषयमा यस लेखमा चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ । नेपालको पूर्वदेखि पश्चिम सम्म फैलिएका मध्य तथा उच्च पहाडी क्षेत्रमा विविध प्रजातिका गुँरासका जंगल छन् । नेपालमा रातो, सेतो, गुलावी, पहेलो, निलो, वैजनी, सुन्तला र·का गरी ३१ प्रजातिका गुँरास पाईने विज्ञहरुको दावी छ । गुँरासका विभिन्न प्रजाति मध्ये लालीगुँरास नेपालमा सबैभन्दा बढी पाईन्छ । नेपालले लालीगुँरासलाई राष्ट्रिय फूलको मान्यता दिएर यो पूmललाई विशिष्ट महत्व पनि दिएको छ । हाम्रा अग्रजहरुले गुँरासका फूल माछाको कांडा घाटीमा अड्किएको अवस्थामा, पातलो दिसा लागेमा, मांसपेशी दुखेमा औषधीका रुपमा प्रयोग गर्ने प्रचलन रहेको बताउने गरेको पनि हामीले सुन्दै आएका हौं । पछिल्ला दिनमा लालीगुँरासको फूलबाट जुस उत्पादन गर्ने गरेको पाईन्छ । गुँरासको बोक्रा र फूल अगरवत्ती, धुप बनाउन, गुँरासको काठबाट खुकुरी, खुर्पाको बीड, उपहार दिने बाकस बनाउन प्रयोग गर्ने गरेको पाइन्छ ।

बहुमूल्य सम्पतिका रुपमा रहेको गुँरासको संरक्षणमा निकै चुनौतिहरु देखा परेका छन् । स्थानीय स्तरमा गुँरासको महत्वका विषयमा सर्वसाधारणलाई सचेतना जगाउने प्रयास हिजोका दिनमा भएन र वर्तमानमा पनि भएको पाईदैन । गुँरासको संरक्षण तथा वैज्ञानिक व्यवस्थापनका लागि विगतमा सरोकारवाला निकायबाट खास पहलकदमी भएको देखिदैन । परिणामत गाउँघरमा दाउराका रुपमा प्रयोग गर्न गुँरास कटान गरेको उदेक लाग्दो दृष्य अहिले पनि हामी देख्न सक्छौ । सडक लगायतका भौतिक पूर्वाधार निर्माण गर्दा गुँरास जथाभावी कटान गर्ने गरेको पाईन्छ । गुँरासलाई कू–काठका रुपमा हेरी सोत्तर बनाउन कटान गर्ने, जथाभावी फूल टिप्ने, हांगा भाच्ने गरेर गुँरासको विनास निम्त्याउने कार्य अहिले पनि कायमै छ । यस्तै वन डढेलोबाट पनि गुँरासका वनको क्षति भईरहेको अवस्था विद्यमान छ ।

यसैबीच वन तथा भू–संरक्षण विभागले गुँरास संरक्षण कार्ययोजना (२०७५–२०८०) तयार गरेको छ । सो कार्ययोजनाले नेपालमा पाईने गुँरासका सबै प्रजातिको संरक्षण, गुँरास वनको दिगो व्यवस्थापन, गुँरास केन्द्रित उद्यम तथा पर्या –पर्यटन विकास गर्दै स्थानीय जीविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्य राखेको छ । ती उद्देश्य प्राप्तिका लागि १० वटा रणनीतिहरु र ५२ वटा कार्यनीतिहरु तय गरेको देखिन्छ । यो गुँरास संरक्षणका दिशामा भएकोे सकारात्मक कदम हो । यस सिलसिलामा वन तथा भू–संरक्षण विभागले प्रदेश नं. १ का पांचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्व, प्रदेश नं. ३ का धादिङ, दोलखा, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुपाल्चोक प्रदेश नं. ४ का गोरखा, कास्की, लम्जुङ, मनाङ, मुस्ताङ, वाग्लुङ, पर्वत, म्याग्दी, प्रदेश नं. ५ का प्यूठान, रोल्पा, गुल्मी, पूर्व रुकुम, प्रदेश नं. ६ का डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, पश्चिम रुकुम र प्रदेश नं. ७ का अछाम, वैतडी, बझाङ, वाजुरा, दैलेख, दार्चुला, डडेलधुरा, डोटी गरी ४३ जिल्लाहरुमा गुँरास पाईने उल्लेख गरी सोही अनुरुप कार्ययोजना तयार गरेको छ । यसप्रकार उक्त कार्ययोजनाले ४३ जिल्ला समेटेको भएपनि यतिवेला राताम्यै फुलेर प्रकृतिलाई औधी सुन्दर र शोभायमान बनाईरहेका कतिपय गुँरास वन, जंगल प्रति चाहिँ केन्द्रका नीति निर्माताहरुको ध्यान जान नसकेको अनुभूति ती सुन्दर दृष्य दिनहुँ देख्ने हामी पाल्पाका आम जनमानसले गरिरहेको अवस्था हो । यस पृष्ठभूमिमा राज्यको नीति, योजना तयार गर्दा गाउँका दुरदराजका क्षेत्र ओझेलमा पर्नु भनेको कि तथ्याड्ढ संकलन गर्दा स्थानीय निकायलाई वेवास्ता, तिनीहरुसँगको पहुँचमा हेलचेक्रयाई, कि त सिंहदरवारमा बसेर हचुवाका भरमा कार्ययोजना बनाउने धृष्टता गरिएको हुनु पर्छ भन्ने सर्वसाधारणको ठम्याई छ । आज गाउँ वस्ती पछाडी पर्नुमा यस्तै मनोवृति जिम्मेवार छ । यस्तो प्रवृति भविष्यमा दोहोरिन नदिनु नै देश र जनताको हितमा हुनेछ ।

अन्त्यमा, पाल्पाका गाउँ गाउँका वन क्षेत्रमा रहेका लालीगुँरासको संरक्षण गर्न सकिएमा पर्यटन विकासमा मद्दत पुग्ने, प्रत्यक्ष, अप्रत्यक्ष आय आर्जन एवं रोजगारीका अवसर सिर्जना हुनेछन् । तसर्थ सरोकारवाला निकायहरुले लालीगुँरासको वैज्ञानिक ढ·बाट व्यवस्थापन गर्ने, नयाँ प्रजातिका गुँरासहरु वृक्षारोपण गर्ने, विद्यमान गुँरासका वनको संरक्षणमा जुट्ने समेतका कार्य अघि बढाउनु पर्छ । लालीगुँरास वनको दिगो व्यवस्थापनले निकट भविष्यमा पर्या –पर्यटनको विकास र नागरिकको जीविको पार्जनमा सकारात्मक प्रभाव पार्ने संभावना प्रचुर देखिएको छ  ।
                                         (लेखक राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआईजी समेत हुन् ।)

  • 371
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    371
    Shares