साहित्यसँगै साँस्कृतिक आचरण आदर्श उन्मूख हुनुपर्ने

पाल्पा, वैशाख २०/साहित्यसँगै सांस्कृतिक आचरण आदर्श उन्मुख हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘तानसेनमा प्रगतिशील लेखक संघको आयोजनामा प्रगतिशील साहित्य लेखन तथा संस्कृति निर्माण विषयक एक दिने गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् ।’ उनीहरुले साहित्य र लेखनका साथसाथै सांस्कृतिक आचरण तथा जीवनशैली समेत प्रगतिशील र प्रगतिवादी आदर्श उन्मुख हुनुपर्नेमा जोड दिए ।
गोष्ठीमा प्रगतशील साहित्य सिर्जना तथा संस्कृति निर्माणका प्रयास विषयक अवधारणा पत्र प्रस्तुत गर्दै संघका निवर्तमान अध्यक्ष एवम् बामपन्थी संस्कृतिविद् झपेन्द्र जिसिले समाजको सकारात्मक परिवर्तनका लागि सही दर्शन र विचारबाट अभिप्रेरित गर्ने लेख रचनाको आवश्यकता रहेको बताए । उनले जीवन र जगतका बारेमा आध्यात्मक तथा विलासी सौन्दर्यका आधारमा निर्मित बुर्जुवा साहित्यले समाजलाई असल मार्ग निर्देशन गर्न नसक्ने धारणा व्यक्त गरे । जिसीले प्रगतिशील साहित्यको साझा मञ्चबाट विकसित हुँदै प्रगतिवादतर्फ अग्रसर हुनुपर्ने बताए ।

गोष्ठीमा प्रदेश सांसद नारायण आचार्य, नेताहरू नारायणी शर्मा, राजेन्द्र विश्वकर्मा, विशाल दर्लामी, साहित्यकारहरू रामप्रसाद अर्याल, नारायण अधिकारी, सीताराम घिमिरे, गुणवती केसी, गोमबहादुर क्षेत्री लगायतका वक्ताहरुले मानिसको जीवन शैली आदर्श उन्मुख हुनुपर्ने बताए । उनीहरुले विश्व कम्युनिष्ट आन्दोलन तथा नेपालको वर्तमान सरकारका बारेमा समेत समीक्षा एवम् टिप्पणी गरेका थिए । अवधारणा पत्रमाथि टिप्पणी गर्दै राजनैतिक विश्लेषक नुरराज बस्यालले साहित्यकार तथा लेखकहरूले समाजको गतिशील रूपान्तरणका लागि आवाज उठाउने र यसका लागि दार्शनिक र वर्गीय चेतनाका आधारमा समाजवादतर्फ उत्प्रेरित गर्ने गरी रचना गर्नुपर्ने बताए । अर्का टिप्पणीकार नारायण ढकालले माक्र्सवादको विविध पक्षबाट विश्लेषण गर्दै प्रगतिशील लेखक एवम् साहित्यकारहरूमा दार्शनिक स्पष्टताका आधारमा लक्षित वर्गको समुन्नत विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रम प्रगतिशील लेखक संघका जिल्ला सदस्य सोमनाथ अर्यालको अध्यक्षता र चतुर्भुज नेपालको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *