सहमतिपछि त्रिबक्या प्रमुखको कार्यकक्षामा लगाइएको ताला खुल्यो

पाल्पा, जेठ ३१/त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला सहमतिपछि खुलेको छ । सत्तारुढ दल नेकपाका विद्यार्थी संघगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले आंशिक शिक्षण सहायक (सहायक प्राध्यापक) नियुक्तिको विषयलाई लिएर जेठ १५ गते क्याम्पस प्रमुख जीवनबहादुर थापाको कार्यकक्षामा लगाएको ताला तीन बुँदे सहमतिपछि खुलेको हो ।

विहिबार दुई विद्यार्थी संगठन र क्याम्पस प्रशासन बीच भएको छलफलबाट सहमति भएको थियो । सहमतिपछि शुक्रबार ताला खोलिएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पदम सोमैले बताए । क्याम्पस भित्र सञ्चालित सबै कार्यक्रममा आशिंक शिक्षक नियुक्ति गर्दा खुला विज्ञापनबाट पदपूर्ति गरिने, क्याम्पसका विभिन्न संकायमा आवश्यक शिक्षकहरु पनि खुला विज्ञापनबाट पदपूर्ति गरिने, क्याम्पस भित्रका शैक्षिक विषयमा छलफल गर्दा विद्यार्थी संगठनहरुसँग सहकार्य गरी अगाडि बढ्ने लगायतका विषयमा सहमति भएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पदम सोमै र अनेरास्ववियुका का.वा. जिल्ला अध्यक्ष हिरामणी पराजुलीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

क्याम्पस प्रमुख जीवनबहादुर थापाले विद्यार्थीको माग अनुसार क्याम्पस प्रशासनले केही कमजोरी भएमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले आंशिक कर्मचारी राख्दा विज्ञापन खोल्नुपर्दछ भन्ने नीति भने नरहेको बताए । उनले भने ‘दक्ष जनशक्ति नहुँदा एमए थर्ड सेमेस्टरमा अर्थशास्त्र र अंग्रेजी विषयमा विगत दुई महिनादेखि अध्यापन हुन नसक्दा योग्य र क्षमतावान शिक्षक ल्याइएको हो, तर विद्यार्थी संगठनले भने जस्तै प्रक्रियागत रुपमा जाँदा लामो समय लाग्ने हुँदा विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गर्दै शिक्षक नियुक्ती गरिएको मात्र हो ।’ यी विषयमा विद्यार्थीहरुको चित्ता नबुझ्दा खुला रुपमै पदपूर्ति गर्ने सहमति भएको क्याम्पस प्रमुख थापाले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •