सरकार अग्रसर होऊ

शिक्षा एउटा त्यस्तो वस्तु हो जसले अज्ञानतालाई हरण गर्ने गर्दछ । मानव जातिलाई अन्धकारबाट उज्यालो तर्फ उन्मुख गर्ने गर्दछ । शिक्षा चेतनाको भण्डार हो । यसलाई जति धेरै उपयोग गर्न सकिन्छ, जति धेरै व्यक्ति शिक्षामा समर्पित हुन्छन्, मुलुकको चौतर्फी विकास तीब्र गतिमा हुन्छ । तर, शिक्षाजस्तो संवेदनशील विषयमा हचुवाका भरमा प्रतिक्रिया, योजना र कार्यक्रमहरू सार्वजनिक गर्ने परिपाटीले एकाध सरोकारवालाहरू यस विषयमा अपेक्षित संवेदनशील हुन सकेका छैनन् । यस्तो प्रवृतिले बढाएको जोखिम तत्काल उन्मूलन हुनु आवश्यक छ । पाल्पा जिल्लाको शैक्षिकस्तर अन्य जिल्लाको तुलनामा अगाडि छ । यहाँको शैक्षिक संस्थाको अवस्था हेर्ने हो भने राम्रै भएको पाइन्छ । पाल्पाको शैक्षिक क्षेत्र सुधारिएको अवस्था छ । तर मुलुकको शिक्षा क्षेत्रको समग्र मूल्यांकन गर्दा सन्तोष लिने ठाउँ छैन । अहिले पनि हजारौं बालबालिकाहरु विद्यालय जानै नपाउने स्थितिमा छन् । विद्यालय गए पनि अध्ययनलाई निरन्तरता दिन नपाउने अवस्थामा सयौं बालबालिकाहरु छन् । राज्यले विपन्न बालबालिकालाई सहजरुपमा अध्ययनको वातावरण मिलाउन निःशूल्क शिक्षा, निःशूल्क शैक्षिक सामग्री वितरण र छात्रवृत्तिको व्यवस्था अनिवार्यरुपमा गर्नुपर्छ । राज्यले केन्द्रीय तहबाटै शैक्षिक क्षेत्रको सुधार र विकासका लागि धेरै कामहरु गर्न बाँकी छ । तर, देशको शैक्षिक नीति निर्माण गर्ने, कार्यान्वयन गराउने वा शिक्षकसमेतले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा नपठाएर यसको विश्वसनीयतामा शङ्का थपिरहेकाछन् । सरकारले बनाएको नीति नियम कागजमा सीमित देखिन्छ । सबै विद्यार्थी सफल भविष्य चाहन्छन् । तसर्थ सरकारमा समस्यालाई समाधान गर्ने साँच्चैका दृढ इच्छाको खाँचो छ । सुधारको प्रमुख जिम्मेवारी लिएर कार्यान्वयन गर्ने दायित्व सरकारको हो । समग्र मुलुकको गुणस्तरीय शिक्षा क्षेत्रमा सुधारका लागि सरकार अग्रसर हुनु जरुरी छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *